नित्यकल्याण बहुउद्देश्य सहकारीको अध्यक्षमा हिरा बहादुर गिरी चयन


काठमाडौँ । चन्द्रागिरी नगरपालिका–३ थानकोटमा मुख्य कार्यालय रहेको नित्यकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। चेकपोष्ट थानकोटमा रहेकाे ग्रिनल्याण्ड ब्याङ्क्वेटमा आयोजना गरिएको सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

अधिवेशनबाट अध्यक्षमा श्री हिरा बहादुर गिरी सर्वसम्मत चयन भएका छन् । गिरीको नेतृत्वमा चयन भएको नवनिर्वाचित कार्यसमितिले संस्थाको सुशासन सुदृढीकरण, प्रविधिमैत्री सेवा विस्तार र सदस्य–केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नाराका साथ २०७७ मा स्थापना भएको यस सहकारीले स्थापना कालदेखि नै स्थानीय समुदायको आर्थिक सशक्तीकरण, बचत–ऋण व्यवस्थापनमा पारदर्शिता र संस्थागत एकीकरणलाई मुख्य लक्ष्यका रूपमा अघि बढाउँदै आएको छ । साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक विवरणमाथि सदस्यहरूले सुझाव राख्दै संस्थाको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग, आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउने र सदस्य सेवामा गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित अध्यक्ष गिरीले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउँदै सदस्यहरूको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साधारण सभाको सफल आयोजनाले नित्यकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेडलाई आगामी दिनमा थप सशक्त र विश्वासिलो सहकारीका रूपमा अघि बढ्ने आधार तयार गरेको आयोजकले जनाएको छ ।