जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेश प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादव ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए । सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी थिइन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।
सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहुमतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन । सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सभामुख पद रिक्त रहेको थियो ।

प्रतिक्रिया