काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा मापदण्ड लागू गरेको छ ।
आन्तरिक सर्कुलर पठाउँदै नेकपाले उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । नेकपाले भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने जनाएको छ ।
कर–राजश्वमा पूर्ण अद्यावधिक, कालोसूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् । नेकपाले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्दा कम्तिमा दुई महिलाको नाम पठाउनुपर्ने मापदण्ड बनाएको छ ।
त्यस्तै सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरूषका दरले चार–चार जना सिफारिस गर्नुपर्ने उल्लेख छ ।
नेकपाले जारी गरेको सर्कुलरः
१. उम्मेदवारको योग्यता र मापदण्ड
आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनु पर्नेछ ।
क. आधारभूत कानुनी योग्यता
प्रतिनिधिसभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रियसभाको उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।
मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने ।
संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने ।
राष्ट्रियसभा, प्रदेश सभा, स्थानीय तहका पदमा बहालवाला हुन नहुने ।
ख. आर्थिक स्वच्छता र पारदर्शिता
अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने ।
कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने ।
कुनै पनि प्रकारको कालो सूचीमा नरहेको हुनुपर्ने ।
सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने ।
कुनै कारोबारमा संलग्न भए कर÷राजस्वमा अद्यावधिक भएको हुनुपर्ने ।
निर्वाचन आयोगले तोके अनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने ।
पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने ।
सामाजिक आचरण र व्यवहार
सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने ।
जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभाव सम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने ।
घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने ।
राजनीतिक तथा वैचारिक प्रतिबद्धता
राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवद्ध हुनुपर्ने ।
पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने ।
आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने ।
सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने ।
जनतामा लोकप्रिय हुनुपर्ने ।
२) उम्मेदवारको सिफारिस
क) उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ
विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने ।
नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने ।
सार्वजनिक संवाद कला हुनुपर्ने ।
राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने ।
विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने ।
३) सिफारिस गर्ने संख्या
प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको सिफारिस निम्नानुसारको संख्यामा गर्नुपर्ने छ ।
क) प्रत्यक्षतर्फ
हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।
सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने ।
सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।
ख) समानुपातिकतर्फ
एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।
सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।
उपत्यका विशेष प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।
प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।
जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।
संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने ।
शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने ।
एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।
ग) राष्ट्रिय सभातर्फ
राष्ट्रियसभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने ।
राष्ट्रियसभाका लागि प्रदेशले यस पटक निर्वाचन हुने प्रत्येक क्लष्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने ।

प्रतिक्रिया