अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथाम गर्नका लागि अमेरिकी नागरिकहरूलाई मास्क लगाउने आदेश नदिने वाचा गरेका छन् । देशका प्रमुख सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले राज्य र स्थानीय नेताहरूलाई मानिसहरूलाई मास्क लगाउन प्रेरित गर्न यथासम्भव प्रयत्न गर्न आग्रह गरेपश्चात् ट्रम्पको यस्तो भनाइ आएको हो ।
डा. फाउसीले मास्क लगाउनु वास्तवमै महत्वपूर्ण रहेको र हामी सबैले त्यसलाई प्रयोग गर्नुपर्छ भनेका थिए । मास्क लगाउने कुरा अमेरिकामा निकै राजनीतीकरण भएको विषय बनेको छ । अधिकांश राज्यका गभर्नरहरूले अहिले घरबाहिर मास्क लगाउनुपर्ने नियमलाई अनिवार्य गरेका छन् । त्यस्तो आदेश दिनेहरूमा रिपब्लिकन पार्टीबाट चुनिएकै गभर्नरहरू पनि छन् ।
पहिले मास्क लगाउन अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले गत शनिवार सार्वजनिक रूपमा पहिलो पटक मास्क लगाएका थिए । तर शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै उनले मास्क लगाउनैपर्छ भन्ने नियम देशभरि लागु गर्ने कुरामा आफू सहमत नभएको बताए । उनले नागरिकसँग निश्चित स्वतन्त्रता हुनुपर्ने भन्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।
यसै साताको सुरुमा अमेरिकाको जनस्वास्थ्य निकाय सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले एउटा सूचना निकाल्दै सबैलाई मास्क लगाउन आह्वान गरेको थियो ।

प्रतिक्रिया