ओलीको निर्देशनः ‘एमालेमा आलोचनात्मक चेत हराएका झोले बस्नछन्, खै केपी ओलीकाविरुद्ध बोलेको ?’ भन्छन्- सचेत हुनु


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको बताएका छन् । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव सम्पन्न भएसँगै प्यानलहरु सकिएका बताएका हुन् ।

उनले अब पार्टीमा कुनै प्यानल नभएको बताए । उनले भने, ‘हाम्रा विरोधीले एमालेको एकता भाँड्न आलोचनात्मक चेत छैन भनेर उल्क्याउन सक्छन्,तर अब एमालेमा महाधिवेशनपछि कुनै प्यानल छैन हामी एकजुट छौं । महाधिवेशनको चुनावसँगै एमालेमा अब कुनै प्यानल छैन,हामी सबै एकताबद्ध छौं । हिजो चुनाव लड्दा प्यानलहरु बने होलान् । तर चुनाव सकिएसँगै प्यानल पनि सिद्धिए । एमाले एकजुट छ ।’

उनले पार्टीलाई अब एकताको भावनाकासाथ नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । विगतमा पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा त्यस्ता कुनै पनि कमजोरी हुन नदिने बताए ।

उनले आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एक स्वर, एक तालका साथ अघि बढनुपर्ने बताए । उनले भने, ‘नीतिमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हात पनि बराबर हल्लिने, खुट्टा पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौं।’

उनले नेताहरुलाई असन्तुष्टि भए पार्टी बैठकमा राख्न, तर संचारमाध्यममा गएर नबोल्न निर्देशन दिए । अध्यक्ष ओलीले पार्टी एकतामा खलल पुर्याउन उचाल्नेहरुका कुराहरुमा प्रभावित नहुन आग्रह गरे । उनले भने, ‘एमालेमा केपी ओलीको अधिनायवाद चल्छ, आलोचनात्मक चेत हराएका झोले बस्नछन्, खै केपी ओलीका विरुद्ध बोलेको भन्छन् । लिडरशीप प्रति अनास्था जगाउनका लागि पार्टी एकतामा खलल पुर्याउन उचाल्नेहरुका कुराहरुमा प्रभावित हुनुहुँदैन ।’

उनले एमाले अनुशासनमा चल्ने पार्टी भएकाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो कार्य एमालेले नगर्ने बताए । उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए ।