काठमाडौँ । अध्यक्ष पदमा पराजित नेकपा एमालेका नेता ईश्वर पोखरेलले महाधिवेशनमा निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीलाई बधाइ दिएका छन् ।
सामाजिक संजालमार्फत पोखरेलले प्रतिस्पर्धामा विजयी बन्न नसके पनि अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
उनले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतीको बहस तथा छलफलले नयाँस्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।’
पोखरेलले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् – हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया