केही दिनभित्रै जाँचबुझ आयोगले ओली र लेखकसँग बयान लिने


काठमाडौँ । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ ।

बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटगरी आगामी साता बयान लिने जानकारी गराएका हुन् । जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको आयोगले अब राजनीतिक नेताहरुसँग बयान लिन लागेको हो ।

त्यसक्रममा आयोगका पदाधिकारीले आयोगको एक महिना म्याद थप गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित  आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगमा आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।