महाधिवेशनको कार्यतालिका प्रभावित हुनसक्छः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले सिरियल नम्बर नै नभएका सदस्यता फारम वितरण गरिएकाले तोकिएको मितिमै महाधिवेशन हुन कठिन हुनसक्ने बताएका हुन् ।

उनले सिरियल नम्बर नभएको क्रियाशील सदस्यता स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेको बताए ।

कोइरालाले अब नयाँ सिरियल नम्बरसहितका फारम गाउँगाउँसम्म पुर्याएर भराउँदा समय लाग्ने हुँदा महाधिवेशनको कार्यतालिका केही प्रभावित हुन सक्ने बताए । उनले भने, ‘अहिले नै मिति सर्छ भनेर नसोचौं, तर प्रक्रियागत ढिलाइले असर गर्न सक्छ ।’

कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।