निरंकुश प्रवृत्तिको अन्त्य गर्न एमालेका महाधिवेशन प्रतिनिधिलाई भीम रावलको आग्रह


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले एमाले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति मुक्त गर्न सुझाव दिएका छन् । एमालेको ११औं महाधिवेशनका सन्दर्भमा रावलले प्रतिनिधिहरूलाई यो पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने अवसर भएकोले गलत प्रवृत्तिको अन्त्य गर्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन,सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रुपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य पार्टीलाई विधि, पद्धति अनुरूप देशको सर्वोपरी हितको दिशामा अगाडि बढाउने र महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो । अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ। अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ।’