ओलीले अगुवाइ गरेको सिङ्गो टीमलाई शानदार मतका साथ विजयी गराउन प्रदीप ज्ञवालीको आग्रह


काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टीमलाई शानदार मतका साथ विजयी बनाउन अपील गरेका छन् ।

एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानअघि सामाजिक संजालमार्फत ज्ञवालीले ओलीको अगुवाइमा रहेको सम्पूर्ण टीमलाई समर्थन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपील गर्दछु । म हमेशा तपाईँहरूकै बीचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।’

ज्ञवालीले महासचिवमा दाबी गरेपनि ओलीले टीममा नराखेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । तर पनि उनी ओलीका पक्षमा खुलेका छन् ।