राम सुन्दर बके
नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय एउटा गम्भीर बहस सतहमा आएको छ । मानव-जनावर सम्बन्धको पुरानो इतिहास बोकेको हात्ती र त्यससँग जोडिएको जंगल सफारी, हात्ती महोत्सव तथा पर्यटन अभ्यासमाथि विभिन्न पशु अधिकारकर्मी समूहहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूको आवाजले नेपालको पहिचानसँग गाँसिएको हात्ती पर्यटन विस्थापित हुने खतरा बढ्दै गएको छ । यही सन्दर्भमा इतिहास, संस्कृति, पर्यटन, रोजगारी र वातावरणीय सन्तुलनका दृष्टिले हात्तीको भूमिकालाई पुनः मूल्याङ्कन गर्नु आजको आवश्यकता बनेको छ ।
मानव र हात्तीको सम्बन्ध कुनै नयाँ प्रयोग होइन । यो सम्बन्ध हजारौँ वर्ष पुरानो सभ्यतासँग जोडिएको छ । देवताहरूका राजा इन्द्रको वाहन हात्ती हो । राजा-महाराजाहरूको सवारी, राज्यको शक्ति र वैभवको प्रतीकका रूपमा हात्ती प्रयोग हुँदै आएको इतिहास छ । एक देशले अर्को देशलाई हात्ती उपहार दिने परम्परा आज पनि कतिपय ठाउँमा जीवित छ, जसले हात्तीलाई मित्रता र सम्मानको प्रतीकका रूपमा स्थापित गरेको छ ।
नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा क्षेत्रमा जंगल पर्यटनलाई जीवन्त बनाउने मुख्य आधार नै हात्ती हो । सौराहा पुग्ने पर्यटकको मानसपटलमा हात्ती चढेर जंगल सफारी गर्ने अनुभव गहिरो रूपमा बसेको पाइन्छ । ‘हात्ती सफारी’ नेपालकै अन्तर्राष्ट्रिय पर्यटन पहिचान बनेको छ । यही पहिचानलाई विदेशी दृष्टिकोण र केही अधिकारवादी अभियानका नाममा विस्थापित गर्न खोजिएको आरोप पर्यटन व्यवसायीहरुले लगाउने गरेका छन् ।
इतिहासमा फर्केर हेर्दा आधुनिक यातायात नहुँदा जंगल र दुर्गम बाटो पार गर्न हात्ती सबैभन्दा सुरक्षित सवारी थियो । राजाहरूले हात्ती पाल्थे जुन कुरा आम नागरिकले कल्पनासमेत गर्न सक्दैनथे । भनाइ नै थियो राजाले कसैलाई बिगार्न चाहे हात्ती उपहार दिए पुग्छ । हात्ती पाल्नु साधारण कुरा होइन । एउटा हात्तीको हेरचाह मात्रै गर्नका लागि कम्तीमा तीन जनाको आवश्यकता पर्छ । दैनिक १५० देखि २०० किलोसम्म घाँस, सखर, नुनलगायतका आहारहरु चाहिन्छ । यही कारण हात्ती पहाडमा होइन तराईका भूभागमा मात्र पाल्ने गरेको पाइन्छ ।
मानव-हात्ती सम्बन्ध कसरी सुरु भयो भन्ने विषयमा विभिन्न मान्यता छन् । प्राचीनकालमा भारी बोक्ने, यात्रामा सुरक्षा दिने आवश्यकता हुँदा मानिसले जंगली हात्तीका बच्चा पालेको हुनसक्ने अनुमान गरिन्छ । बाघबाट घाइते भएका बच्चा बचाएर पालेको हुन सक्छ । चेतनाको विकाससँगै उपयोगिताका आधारमा हात्तीलाई मानव जीवनसँग जोडिएको प्राणीका रूपमा स्वीकार गरियो । मानिसपछि सबैभन्दा बुद्धिमान प्राणीका रूपमा डल्फिनसँगै हात्तीलाई लिने गरिन्छ । मानिसको बोली, संकेत र भावना बुझ्ने क्षमता हात्तीमा देखिन्छ ।

पुरातात्विक प्रमाणअनुसार मानव-हात्ती सम्बन्ध कम्तीमा ४ हजारदेखि ५ हजार वर्ष पुरानो छ । दक्षिण एसिया, भारत, नेपाल र दक्षिण-पूर्वी एसियाका सभ्यतामा हात्तीका चित्र, मूर्ति र लेख भेटिन्छन् । हिन्दु मन्दिरहरूमा सुरक्षाको प्रतीकका रूपमा हात्तीका मूर्ति राखिन्छन् । भक्तपुरको पाँचतले मन्दिर परिसरमा मानव मूर्तिभन्दा दस गुणा शक्तिशाली जनावरका रूपमा हात्तीको मूर्ति राखिएको उदाहरण छ । यसले धार्मिक र सांस्कृतिक संरचनामा हात्तीको उच्च स्थान रहेको छ भन्ने कुराको पुष्टि गर्छ ।
हात्ती-मानव बीचको सम्बन्ध धार्मिक, प्राचिन हो भन्ने कुराका लागि यहाँ एउटा प्रसंग सान्दर्भिक छ,
महाभारत युद्धको सबैभन्दा जटिल, विवादास्पद र नैतिक दृष्टिले गहिरो प्रसंगमध्ये एक हो अस्वत्थामाको मृत्यु घोषणा र त्यससँग जोडिएको हात्तीको कथा । यो प्रसंगले केवल युद्ध रणनीति मात्र होइन, सत्य, धर्म, कर्तव्य र युद्धकालीन नैतिकताको गहिरो द्वन्द्व उजागर गर्छ ।
अस्वत्थामा नाम दुईवटासँग जोडिएको थियो-एक जना मानिस र एक हात्ती । मानिस अस्वत्थामा थिए गुरु द्रोणाचार्यका पुत्र, अत्यन्त पराक्रमी, तेजस्वी र अमरत्वको वरदान पाएका चिरञ्जीवी । अर्कोतर्फ, पाण्डव सेनातर्फकै एक विशाल हात्ती पनि थियो, जसको नाम संयोगवश अस्वत्थामा नै राखिएको थियो । यही नामको संयोग मिल्ने विषयले महाभारत युद्धको धार नै मोडिदियो ।
कुरुक्षेत्र युद्धमा कौरव पक्षका सेनापति द्रोणाचार्य अपराजेयजस्तै थिए ।उनी अस्त्रविद्याका आचार्य मात्र होइन, रणनीतिक रूपमा पनि अत्यन्त सशक्त थिए । जबसम्म द्रोणाचार्य युद्धभूमिमा सक्रिय थिए, पाण्डवहरूको विजय असम्भवजस्तै देखिन्थ्यो । उनलाई रोक्ने एउटै उपाय थियो, उनी स्वयंले हतियार त्याग्नु । तर द्रोणाचार्य न त पराजित हुने खालका थिए, न त सजिलै युद्ध छोड्ने ।
द्रोणाचार्यको एक मात्र कमजोरी थियो, उनका पुत्र अस्वत्थामाप्रतिको गहिरो माया । पाण्डव पक्षका रणनीतिकारहरूले यही भावनात्मक बिन्दु पहिचान गरे । युद्धको कठोर यथार्थमा, भावनालाई अस्त्र बनाउने निर्णय लिइयो । भीमसेनले युद्धमैदानमै अस्वत्थामा नामको हात्तीलाई मारिदिए । त्यसपछि युद्धभूमिमा ठूलो स्वरले घोषणा गरियो, ‘अस्वत्थामा मरे।’
द्रोणाचार्यले त्यो घोषणा सुने तर विश्वास गरेनन् । उनले सत्यको प्रतीक मानिने युधिष्ठिरलाई सोधे, ‘के अस्वत्थामा मरेको हो?’ यो प्रश्न केवल सूचनाको लागि मात्र नभई धर्मको परीक्षा थियो । युधिष्ठिर आजसम्म कहिल्यै असत्य नबोल्ने व्यक्तिका रूपमा चिनिन्थे । युधिष्ठिर धर्मसंकटमा परे । सत्य बोल्दा युद्ध हार्ने सम्भावना, असत्य बोल्दा धर्म पतन । अन्ततः उनले सत्यलाई शब्दको आवरणभित्र लुकाएर उत्तर दिए, ‘अस्वत्थामा मरेको हो, नर वा कुंजर (मानिस कि हात्ती), मलाई थाहा छैन।’
तर यही क्षणमा कृष्णले शंख बजाउन लगाए । शंखनादको तीव्र आवाजले ‘कुंजर’ (हात्ती) भन्ने शब्द ढाकियो । द्रोणाचार्यको कानमा पुग्यो, ‘अस्वत्थामा मरेको हो।’ उनले आफ्ना प्रिय पुत्रको मृत्यु भएको ठाने । पुत्रशोकले आहत द्रोणाचार्यले तत्काल हतियार त्यागे । युद्धबाट विमुख भए । त्यो क्षण नै पाण्डव पक्षको लागि निर्णायक मोड बन्यो । द्रोणाचार्य युद्धबाट हटेपछि मात्र युद्धको शक्ति-सन्तुलन बद्लियो ।
यस प्रसंगमा हात्ती केवल एक जनावर रहेन । हात्ती युद्धको रणनीतिक केन्द्र बन्यो । जसको नाम, उपस्थिति र मृत्युले इतिहासको दिशा मोड्यो । यही कारण महाभारतमा हात्तीलाई केवल युद्धको साधन होइन, युद्धको निर्णायक शक्ति समेत मानिएको छ ।
आजको दिनमा राज्यबाहेक कसैले सहजै हात्ती पाल्न सक्दैन । नेपालमा हाल कूल १७७ वटा हात्ती छन् । तीमध्ये ५३–५५ वटा सरकारी स्वामित्वमा छन् भने बाँकी १०० भन्दा बढी निजी क्षेत्रसँग छन् । यी निजी हात्तीहरू मुख्यतः पर्यटकलाई जंगल सफारी गराउन प्रयोग हुन्छन् । एउटा हात्तीले प्रत्यक्ष रूपमा कम्तीमा तीन जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा धेरैलाई । एउटा हात्तीको बजार मूल्य ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म पर्छ । यसरी हेर्दा हात्ती पर्यटनसँग जोडिएको पूँजी एक अर्ब रुपैयाँभन्दा बढीको छ ।
हात्ती सफारी वातावरणमैत्री पर्यटन अभ्यास हो । जीप सफारीले धुवाँ, ध्वनि प्रदूषण र जंगलमा प्रत्यक्ष क्षति पुर्याउँछ । तर हात्ती सफारीले प्रकृतिलाई हानी गर्दैन । बरु हात्तीको मलमूत्रबाट किरा-फट्याङ्ग्रा जन्मन्छन्, चराहरूले आहार पाउँछन्, वनस्पतिले मल पाउँछ । यसरी प्राकृतिक चक्र समेत सन्तुलित रहन्छ ।
नेपालमा मात्र हुने हात्ती महोत्सव, हात्तीको फुटबल खेल र पोलो खेल विश्वप्रसिद्ध छन् । यी केवल मनोरञ्जन मात्र नभई नेपाली संस्कृति, थारू समुदायको पहिचान र तराईको ऐतिहासिक गरिमासँग जोडिएका पर्व हुन् । सौराहाको हात्ती सफारी नेपाली र संसारभरका पर्यटकको स्मृतिमा गहिरो रूपमा बसिसकेको विषय हो । यदि हात्ती सफारी हटाइयो भने सौराहाको पर्यटनमा अपूरणीय क्षतिमा पर्नेछ ।
त्यसैले आजको आवश्यकता भावनामा नबगिकन तथ्य र इतिहासमा आधारित बहसको छ । हात्ती संस्कृति बचाउनु भनेको केवल एउटा व्यवसाय जोगाउनु मात्र नभई नेपालको पर्यटन, रोजगारी, वातावरणीय सन्तुलन र सांस्कृतिक पहिचान जोगाउनु हो । हात्तीमाथि गलत दृष्टि पर्न नदिऔँ । ‘हात्ती संस्कृति बचाऔँ अभियान’ आजको साझा आवश्यकता हो ।
राम सुन्दर बके ‘जे पाक्छ, त्यही बिक्छ; गाउँ-गाउँमा होमस्टे, घर-घरमा रोजगार’ अभियानका अभियानकर्ता हुन् ।

प्रतिक्रिया