हङकङ । हङकङका पूर्वसञ्चार उद्यमी जिमी लाई राष्ट्रिय सुरक्षासम्बन्धी दुई अभियोगमा दोषी ठहरिएका छन् । दुई वर्षसम्म चलेको यो मुद्दालाई बेइजिङको शासनअन्तर्गत हङकङमा घट्दै गएको स्वतन्त्रताको संकेतका रूपमा हेरिएको छ ।
७८ वर्षीय अर्बपति लाई सन् २०२० मा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लाग्ने बेइजिङका सबैभन्दा चर्चित आलोचकहरूमध्ये एक हुन्। उक्त कानुन सन् २०१९ मा भएका लोकतन्त्र समर्थक प्रदर्शनपछि लागू गरिएको थियो ।
लोकतन्त्र समर्थक ट्याब्लोइड पत्रिका ‘एप्पल डेली’ का संस्थापक लाईको पत्रिका सन् २०२१ मा बन्द गराइएको थियो। अदालतको फैसलापछि उनलाई आजीवन कारावासको सजाय सुनाइने सम्भावना छ । सोमबार आएको फैसलाले विश्वभरका समर्थक र विदेशी नेताहरूको आलोचना तानेको लामो कानुनी प्रक्रियाको अन्त्य गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लाईलाई ‘बाहिर निकाल्ने’ बताएका थिए ।
राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि हङकङमा दर्जनौँ राजनीतिक विरोधी जेल परेका छन् भने नागरिक समाजका संस्था र स्वतन्त्र सञ्चारमाध्यमहरू बन्द हुन बाध्य भएका छन्। यसले एक समय खुला सहर मानिने हङकङलाई ‘देशभक्त मात्र’ शासन गर्ने संरचनामा रूपान्तरण गरेको आलोचना छ ।
हङकङ र चीनका नेताहरू भने उक्त कानुनले सहरमा ‘स्थिरता पुनःस्थापित’ गरेको दाबी गर्दै आएका छन् । फैसला सुनाउँदै न्यायाधीशहरूले लाईले लामो समयदेखि चीन जनवादी गणतन्त्रप्रति आक्रोश र विरोध भाव राख्दै आएको बताए। उनीहरूले ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी नेताहरूसँग भएको भेटघाट र लबिइङलाई विदेशी शक्तिसँग मिलेमतोको प्रमाणका रूपमा उल्लेख गरे ।
अदालतले लोकतन्त्र समर्थक अभियन्तासँगका उनका ह्वाट्सएप सन्देश र सन् २०२० मा न्यूयोर्क टाइम्समा लेखिएको विचार लेखसमेतलाई अभियोगको आधार मानेको छ । न्यायाधीशहरूले सजाय सुनाउने मिति पछि घोषणा गरिने बताएका छन्। राष्ट्रिय सुरक्षा कानुनअनुसार विदेशी शक्तिसँग मिलेमतोको अभियोगमा आजीवन कैदको व्यवस्था छ।

प्रतिक्रिया