माधवप्रसाद घिमिरे, पाटन (ललितपुर) ।
‘केही मीठो बात गर,
रात त्यस्तै ढल्किँदै छ, ..
शनिबारको सन्ध्याकालीन समयमा ललितपुरको खुमलटारस्थित प्रिमियर स्कुलमा चार वर्षीय बालक अरहत सिंहले स्वरसम्राट नारायण गोपालको स्वरमा सजिएको यो गीत गुनगुनाउँदा सयौंको सङ्ख्यामा उपस्थित दर्शकहरूले तालीले साथ दिइरहेका थिए ।
पैँतिस वर्षअघि विसं २०४७ मङ्सिर १९ गते देहत्याग गर्नुअघि स्वरसम्राट नारायण गोपालले स्वरबद्ध गरेका गीत, सङ्गीत विज्ञान र प्रविधिमा अभ्यस्त रहेको अल्फा पुस्तामा समेत उत्तिकै लोकप्रिय रहेको छनक थियो त्यो ।
नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी हुर्कँदै गरेका पुस्तामा हुन् या पाका पुस्ताको मनमा अहिले पनि जीवन्त छन् । बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्मिएका नारायण गोपालको ५१ वर्षको उमेरमा निधन भएको थियोे ।
स्वरसम्राट नारायणको ३५औँ स्मृति दिवसको अवसरमा आज निर्भाना म्युजिकल्सद्वारा यहाँ आयोजित साङ्गीतिक कार्यक्रममा गायकहरूले उनका कर्णप्रिय गीतमार्फत सम्झिएका थिए । उनका कालजयी गीतमा हलमा खचाखच भरिएका दर्शकले पनि भरपूर आनन्द लिएका थिए ।
कार्यक्रममा नारायण गोपालले गाएका प्रेम तथा राष्ट्रिय भावले ओतप्रोत गीत पनि प्रस्तुत गरिए । कतिपयले उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गरेको स्मरणसमेत गरे । गीतकार एवं कवि नगेन्द्र थापा प्रेम र देशभक्ति गीत गाउन रुचाउने नारायण गोपालका शब्द र सङ्गीत अहिले पनि उत्तिकै रोजाइमा पर्ने गरेको बताउँछन् ।
गीतकार शैलेश सिंहले २०२६ सालको भदौमा गीतकार, कवि एवम् रचनाकार नगेन्द्र थापाले स्वरसम्राट भनेर सम्बोधन गरेको स्मरण गर्दै त्यो उनीप्रतिको सदाबहार सम्मान रहेको बताए । “परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो । उहाँले जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् । पाका पुस्तामा मात्रै होइन, अहिलेको अल्फा पुस्तामा पनि लोकप्रिय रहेको मेरो बुझाइ छ”, गीतकार सिंहले भने ।
नारायण गोपालले नराम्रा गीत गाउन अस्वीकार गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेका उनले नै ती गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल भएको उनको बुझाइ छ ।
“उहाँ उत्कृष्ट आधुनिक गीत पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिनुभयो । प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल हुनुभयो । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ”, सिंहले भने ।
नारायण गोपालले सांगीतिक जीवनमा १०० भन्दा बढी गीतमा आवाज भरे । प्रायः सबै गीत कालजयी छन् । पूर्व–पश्चिम राजमार्गको निर्माणकार्य चलिरहेका सन्दर्भमा उनले सङ्गीत भरेको ‘जाग लम्क चम्क हो नौ जवान हो…’ बोलको गीत आजयर्पन्त उत्तिकै सान्दर्भिक छ ।
उनी गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेका जानकारहरु बताउँछन् । उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिई’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’ लगायत दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन् ।
तिनैमध्ये आज धेरै गीत गुञ्जिए । गायकहरूले ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो, मेरो बेहोसी आज मेरो लागि पर्दा भो, हिमाल सरि म बगिरहेछु समात—समात मलाई, तिमीलाई भुल्दा, मैले पुन्य मन पराएँ, मलाई छोडी, मलाई मेरो छायाँ, अहिलेसम्म बाँचेका मेरा, स्वर्गकी रानीलगायतका गीतहरूमा आवाज दिए । यसमा दर्शकहरू मन्त्रमुग्ध भएका थिए ।

प्रतिक्रिया