
तनहुँ । तनहुँ जिल्लाको ऋषिङ-घिरिङ क्षेत्रमा अवस्थित कालीगण्डकी टारलाई दिगो औद्योगिक तथा शहरी आर्थिक रणनीतिक केन्द्रका रूपमा विकास गर्ने प्रस्तावले सरकारी तहमा गम्भीर ध्यानाकर्षण गरेको छ । प्रस्तावकर्ता वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले अघि सारेको ‘कालीगण्डकी बहुउद्देश्य आधुनिक औद्योगिक सहर’ अवधारणाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री माननीय कुलमान घिसिङले देखाएको तदारुकता अहिले चर्चाको केन्द्र बनेको छ ।
२०८२ साल मंसिर १९ गते मन्त्री घिसिङलाई बुझाइएको विस्तृत ज्ञापनपत्रमा कालीगण्डकी टार क्षेत्रमा नेपालकै पहिलो स्टिल प्रशोधन तथा म्यानुफ्याक्चरिङ उद्योग रहने छ । हाइड्रोजन, सौर्य, वायु तथा जलविद्युत ऊर्जाको उत्पादन र खपत केन्द्र, रासायनिक मल कारखाना, ठुलो परिमाणमा सिमेन्ट, गिट्टी र बालुवा उत्पादन उद्योग, विस्फोटक पदार्थ उत्पादन उद्योग रहने उल्लेख गरिएको छ । साथै आफ्नै डाटा सर्भर स्टेसन तथा करिब एक हजार घरधुरीका विस्थापित परिवारका लागि स्मार्ट भिलेज निर्माण गर्ने प्रस्ताव समेटिएको छ । यी सबै योजनालाई समेट्दै कालीगण्डकी टारलाई ‘बहुउद्देश्य आधुनिक औद्योगिक शहर’का रूपमा विकास गर्न सकिने सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ ।
ज्ञापनपत्र बुझाएको १० दिनभित्रै मिति २०८२ मंसिर २८ गते मन्त्री घिसिङ स्वयं स्थलगत निरीक्षणका लागि तनहुँ आउने कार्यक्रम तय हुनु वर्तमान सरकारले उक्त प्रस्तावलाई गम्भीर रूपमा लिएको स्पष्ट संकेत भएको न्यौपानेले बताएका छन् । स्थानीयवासी र सरोकारवालाले यसलाई क्षेत्रीय विकासका लागि ऐतिहासिक अवसरका रूपमा हेरेका छन् ।
यससँगै पृथ्वीराजमार्गको पोखरा-मुग्लिन खण्डका जोखिमयुक्त बस्ती क्षेत्रमा सुरक्षित बस्ती अवधारणा लागू गर्ने, पूर्वाधार सुधार तथा दुर्घटना न्यूनीकरण गर्ने विषयमा पनि छुट्टै ज्ञापनपत्र बुझाइएको थियो । पृथ्वीराजमार्ग हुँदै पाल्पा र नारायणघाट पुग्ने कृष्ण मार्ग, शृङ्ग पथ तथा भिमादको स्वास्थ्य चौकी भवनजस्ता दीर्घकालदेखि अलपत्र परेका आयोजनाहरूलाई अगाडि बढाउन निरन्तर पहल गरिएको उल्लेख गरिएको छ । मन्त्रीको तत्काल भ्रमण तय हुनु र स्थानीय जनगुनासो सुन्न तत्परता देखिनुले सरकारको चासो प्रष्ट भएको छ ।
विशेष रूपमा कालीगण्डकी-तिनाउ डाइभर्सन योजना तत्काल रोक्नुपर्ने, नदी संरक्षण तथा भौगोलिक-पर्यावरणीय जोखिम न्यूनीकरणका विषयहरू पनि प्रस्तावमा समावेश छन् । मन्त्रीको तनहुँ भ्रमणका क्रममा यी विषयहरू स्थानीयबासीबाट प्रत्यक्ष रूपमा सुन्ने र आगामी कार्यक्रमहरूमा समावेश हुने अपेक्षा गरिएको छ ।
प्रस्तावकर्ता इन्जिनियर न्यौपानेले मन्त्री घिसिङको स्थलगत निरीक्षणलाई सरकारको तदारुकता, दूरदृष्टि र विकास प्रतिको जिम्मेवारीपूर्ण व्यवहारको उदाहरणका रूपमा व्याख्या गरेका छन् । निर्वाचन सम्पन्न गर्ने दायित्वसहित बनेको वर्तमान सरकारपछि आउने सरकारले पनि यसै दृष्टिलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् । साथै भविष्यमा कार्यान्वयन तहमा योगदान दिने अवसर पाएमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएर २४ सै घण्टा निरन्तर काम गर्ने वातावरण सिर्जना गरी योजनालाई शीघ्र मूर्त रूप दिने प्रतिबद्धता समेत न्यौपानेले जनाएका छन् ।

प्रतिक्रिया