काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक अङ्गहरूमाथिको दलीयकरण, सत्ता लिप्सा, सत्ता केन्द्रित वैदेशिक सम्बन्धको दुष्परिणाम गत भदौ २३ र २४ गते जेनजी विद्रोह भएको ठहर गरेको छ ।
मंसिर २४, २५ र २६ गते तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र जे नाम दिए पनि मूल रुपमा देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारीका कारण जेनजी विद्रोह भएको ठहर गरेको हो ।
बैठकले सतहमा हेर्दा भदौ २३ र २४ गतेको घटना अकल्पनीय जस्तो लागे पनि विकृति विसंगतिमा ३५/३६ वर्षदेखि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएका मुख्य राजनीतिक दल र तिनका नेताहरूको संलग्नताका कारण नेपाली समाजमा उत्पन्न चरम निराशाले यस्तो भयानक विद्रोहको स्वरूप ग्रहण गरेको ठहर गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘नेतृत्वविहीन र असंगठित विद्रोहले केही घण्टामै देश ठप्प गर्नु, केही घण्टाको बीचमै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै ध्वस्त हुनु संसद, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास राष्ट्रपति भवन जल्दा सुरक्षा दिन नसक्नु, मुलुकको प्रधानमन्त्रीले हेलिकप्टरमा भाग्नुपर्ने परिस्थिति बन्नु देशभरका प्रहरी र अन्य सरकारी कार्यालयहरू एकसाथ जल्नु दिनदहाडै प्रहरीका हतियारहरु लुटिनु, देशका अधिकांश कारागारका कैदी बन्दीहरु भाग्ने परिस्थिति बन्नु यी सबै घटनाले ३५, ३६ वर्षदेखि देश चलाइराखेको छु, नेतृत्व गरिराखेको छु भन्ने राजनीतिक दल र नेताहरुलाई नराम्रोसँग धक्का दिएको छ। यो घटनाले राज्य व्यवस्था कति कमजोर रहेछ भन्ने कुरा उजागर गरेको छ। एकमुष्टमा भन्दा वर्तमान संविधान र संवैधानिक व्यवस्था र यो संविधान ल्याउने र पछ्याउने नेता र दलहरू समेत असफल साबित भएका छन् ।’
राप्रपाले अब यही असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्त अगाडि बढाउने कोसिस गर्नु, राजनीतिक समस्याको समाधान नगरिकन र जेनजीको माग सम्बोधन नगरी आमनिर्वाचनमा जानु भनेको मुलुकलाई थप द्वन्द्वमा धकेल्ने निष्कर्ष निकालेको छ ।





प्रतिक्रिया