केपी ओलीले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जबजको मूल मान्यताको बेवास्ता गर्नुभयोः उपाध्यक्ष पाण्डे


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पछिल्लो समय पार्टीभित्र केही नेताले नाम पढेर कमिटी बनाउने प्रचलनले पार्टी कमजोर बनेको बताएका छन् ।

शुक्रबार ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले नेताको वरिपरि घुम्नेहरूलाई नेतृत्वमा ल्याउने प्रथाले अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले कार्यकर्ताबीच काम गर्ने मान्छेलाई नै छान्ने परिपार्टीको विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबीच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेहरूलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेताहरु बाहिरिने अवस्था आउँछ । हामी यो प्रथालाई अन्त्य गर्दै लोकतान्त्रिक बाटोमा हिँडाउन चाहन्छौँ । त्यसैका लागि लडाइँ गरिरहेका छौँ ।’

उनले महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, पुनर्गठन र संस्थागत परिपाटी विकास गर्ने बताए । पाण्डे पार्टी अध्यक्ष ओलीले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जबजको मूल मान्यताको बेवास्ता गरेको बताए ।

उपाध्यक्ष पाण्डेले यस महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवाहरू समेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेको भन्दै युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न नसक्ने बताए ।

उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरि संशोधन गरेको भन्दै आपत्ति जनाए।