भेनेजुएलाली तेल बोक्ने थप ६ वटा पानीजहाजमाथि अमेरिकी प्रतिबन्ध


बीबीसी । भेनेजुएलाको तटपारि एउटा विशाल तेल ट्याङ्कर कब्जा गरेको भोलिपल्ट अमेरिकाले भेनेजुएलाली तेल बोक्ने थप ६ वटा पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।

साथै भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका आफन्त तथा वाशिङ्टनकै शब्दमा ‘उनको अवैध सत्तासँग जोडिएका व्यापार’माथि थप आर्थिक प्रतिबन्धहरू पनि लगाइएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले पत्रकारहरूसँग स्किपर नामक कब्जा गरिएको तेल ट्याङ्कर अवैध तेल कारोबारमा संलग्न रहेको र अब त्यसलाई अमेरिकी बन्दरगाह लगिने बताइन् ।

भेनेजुएलाले उक्त कार्यलाई ‘अन्तर्राष्ट्रिय डकैती’को संज्ञा दिएको छ । मदुरोविरुद्ध चलाइएको अमेरिकी दबाव अभियानलाई पछिल्लो घटनाले थप उत्कर्षमा पुर्याएको छ । केही महिना यता भेनेजुएलाबाट लागुऔषध बोकेर आएका भनिएका जहाजहरूमा अमेरिकी सेनाले हमला गर्दा दर्जनौँ मारिएका छन् ।

ठूला अमेरिकी युद्धपोतलाई क्यारेबिअन क्षेत्रमा खटाइएको छ । ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागुऔषध तस्करी गरेको आरोप लगाएको छ ।

विश्वको सबभन्दा विशालमध्येका तेल भण्डारहरू रहेको भेनेजुएलाको सरकारले चाहिँ अमेरिकाले उसको ऊर्जा स्रोत चोर्न खोजेको बताएको छ । मदुरोले भेनेजुएला कहिल्यै पनि ‘तेल उपनिवेश’ नबन्ने घोषणा गरेका छन् ।