ओलीलाई आपराधिक अभियोग लगाउन मिल्दैनः रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आपराधिक अभियोग लगाउन खोज्नु भनेको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु रहेको बताएकी छन् ।

शुक्रबार बिहान सामाजिक संजालमार्फत झाँक्रीले यस्तो बताएकी हुन् । उनले तत्कालिन प्रधानमन्त्री भएकाले ओलीको त्यसमा नैतिक जिम्मेवारी मात्र हुने बताएकी छन् । उनले भनेकी छन्, ‘भाद्र २३ गतेको घटनाको प्रमुख राजनीतिक, नैतिक जिम्मेवारी तत्कालिन प्रधानमन्त्रीमा जान्छ । त्यसैले त उहाँले भाद्र २४ मा राजीनामा दिनु भएको हो । तर यी घटनाका लागि पूर्वप्रमलाई कानुनी कारबाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो ।’

उनले भिडलाई नियन्त्रण गर्न सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउँदा पुगेको क्षतिलाई लिएर तत्कालिन प्रमलाई हत्याको अभियोग लगाउन नहुने बताइन् । उनले भनेकी छन्, ‘संसद जस्तो संवेदनशील स्थानमा अप्रत्याशित ढंगले उत्पन्न जोखिमको अवस्थामा भिडलाई नियन्त्रण गर्न सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउँदा पुगेको क्षतिलाई लिएर तत्कालिन प्रमलाई हत्याको अभियोग लगाउने र मुद्दा चलाउने हो भने राज्यको वैधानिकता र कोएर्सिव–पावर कहाँ पुग्छ ?’

त्यस्तै उनले अहिलेका प्रधानमन्त्री र गृहमन्त्री यस्ता हत्या अभियोगका लागि तयार छन् ? भन्दै प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘अझै पनि यस्ता आन्दोलन हुन सक्छन् । अप्रिय घटना घट्न सक्छन् । के त्यस्तो अबस्था निर्माण भयो भने अहिलेका प्रम र गृहमन्त्री हत्या अभियोगका लागि तयार छन् ? फौजदारी अपराधको दायराभित्र यो पर्छ र ? अब त के यो सरकार जस्तै कानुन पनि तत्काल ‘आवश्यकताको सिद्धान्त’ कै नाममा मनपरी व्याख्या हुने अभ्यास गर्न खोजेको हो ? पूर्वप्रमलाई हत्याको अभियोग लगाउने ‘रोमाञ्चकारी’ कुरा ले एकैछिन रमझम देला, तर यस्ता कथ्यले नेपालको राज्य प्रणाली उठ्नै नसक्ने गरी थला पर्नेछ । राज्यसंयन्त्रको शक्ति, वैधता र विश्वसनीयता तीव्र गतिमा ओरालो लाग्नेछ। यस्तो बेला पार्टी भित्रका र बाहिरका सबै मान्छेहरुले यतातर्फ सोच्नु पर्दैन ?’