महिनौंपछि नर्वेमा देखिइन् भेनेजुएलाकी विपक्षी नेतृ माचाडो


बीबीसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो महिनौँपछि नर्वेको ओस्लोमा पहिलोपटक सार्वजनिक रूपमा देखापरेकी छन् । नोबेल शान्ति पुरस्कार विजेताको हैसियतमा उनले बुधबार ग्रान्ड होटलको बालकनीमा हात हल्लाउँदै समर्थकहरूलाई अभिवादन गरिन् ।

यात्रा प्रतिबन्धका बीच उनी गोप्य रूपमा नर्वे पुगेकी थिइन् । २०२४ को विवादित राष्ट्रपति चुनावपछि माचाडो सार्वजनिक उपस्थितिबाट टाढा रहेकी थिइन्। उनी अन्तिमपटक जनवरीमा सार्वजनिक रूपमा देखिएकी थिइन्।

बुधबार बालकनीबाट उनले हात मुटुमा राख्दै गीत गाइन् र बाहिर सडकमा जम्मा भएका समर्थकहरूलाई प्रत्यक्ष रूपमा भेट्न होटलबाट निस्किइन्। दिनको सुरूवातमा उनकी छोरी आना कोरिना सोसाले आमाको तर्फबाट नोबेल शान्ति पुरस्कार ग्रहण गरेकी थिइन्।

नोबेल संस्थाले माचाडोलाई यस वर्ष ‘भेनेजुएलामा तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण संक्रमणको अभियान’ का लागि शान्ति पुरस्कार प्रदान गरेको थियो।