म्यानमारको स्क्यामिङ केन्द्रबाट ४७ नेपालीको उद्धार


काठमाडौं । म्यानमारमा अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा लगाइएका ४७ जना नेपाली बुधबार स्वदेश फर्किएका छन् ।

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उनीहरूको उद्धार गरी नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरुलाई बुधबार नेपाल फर्काइएको जनाएको छ ।

अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका २६ जिल्लाका ४७ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ । जसमा ४५ पुरुष तथा २ जना महिला छन् ।

उनीहरू चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक एक–जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका दुई–दुई जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन जना तथा झापा जिल्लाका ५ जना रहेका छन्।

उद्धार गरिएका व्यक्तिहरूको भनाई अनुसार उनीहरू विभिन्न व्यक्ति, साथीभाइ तथा अनलाइन साथी, पब्जी लगायतको अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी त्यहाँ पुगेको देखिएको दूतावासले जनाएको छ ।

कुनै कुनै भारतमा अध्ययन गर्दाको साथीमार्फत, कुनै दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत तहाँ पुगेका थिए । ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको यति कमाईन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समय पछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिष्ट आदिको काम हुने तथा एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको दूतावासले जनाएको छ । त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ्ग केन्द्रहरूमा पुर्याएको देखिएको छ।

स्क्यामिङ्ग केन्द्रहरूमा पुगेपछि उनीहरूलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने, केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिइने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्ने लगायतका यातना समेत भोग्ने गरेको देखिएको दूतावासले जनाएको छ । उनीहरू स्क्यामिङ्ग केन्द्रबाट निस्किन खोजे उनीहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म उनीहरूलाई सो स्थानबाट छुटकारा समेत नदिने गरेको पाइएको दूतावासले जनाएको छ ।