काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा पुनः पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेश जारी भएसँगै शाक्यले बुधबार प्राधिकरणको कार्यालय पुगेर पदबहाली गरेका हुन् ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएपछि पदबाट हटाएका थिए । सर्वोच्चले सरकारको निर्णय बदर गरेपछि शाक्य प्राधिकरण फिर्ता भएका हुन् ।
पदभारपछि कार्यकारी निर्देशक शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि प्राधिकरणको ‘क्याडर’ भएकाले ऊर्जा क्षेत्रलाई समान हिसाबले बुझेको बताए ।
उनले यो क्षेत्र दुवै जनाले एकै हिसाबले बुझेको बताए । उनले भने, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। मैले ३०–३५ वर्ष काम गरेँ, उहाँले पनि ३० वर्ष जति काम गर्नुभयो। त्यसैले हामीले यो क्षेत्र दुवै जनाले एकै हिसाबले बुझेका छौँ होला जस्तो लाग्छ।’
उनले बाँकी अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्ने बताए । उनले भने,‘मरो अब तीन वर्ष पाँच महिना जति बाँकी छ । आशा छ बाँकी समय काम गर्न पाउँछु । अब मैले ३५ वर्ष बिताएको सपना पूरा गर्छु । यसमा चाहिँ मलाई के विश्वास छ भने उर्जामन्त्रीज्यू पनि यही संस्थामा हुर्केकाले राम्रो काम गर्नसक्छौं ।’
उनले उर्जा क्षेत्रमा राम्रो काम गर्न सके अर्थतन्त्र उकालो लाग्ने बताए । उनले डर त्रासले नभई शुभेच्छा र सहयोग लिएर आफूले काम गर्ने बताए । उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता लिने काम नरोकिने बताए । उनले भने, ‘व्यक्ति आएर केही हुँदैन । त्यो विषय संस्थागतरुपमा अघि बढ्छ ।’

प्रतिक्रिया