-केशवप्रसाद भट्टराई ।
१. कुनै पनि मिडिया वार्ता, अखबारहरूमा छापिने नेपाली राजनीति वारेका कुनै पनि लेख रचना वा सामाजिक सञ्जाल प्रयोग गर्ने अधिकांश व्यक्तिहरूले या त केपी ओलीको निन्दा र विरोध गर्दछन् वा समर्थन र प्रशंसा गर्दछन् । वर्तमान नेपालमा ओलीको जति निन्दा र विरोध नेपालमा कसैको हुने गरेको छ जस्तो लाग्दैन । ओली सरकारमा छैनन् तर यो वा त्यो रूपमा हरेकको मुखमा ओली । ओलीको निन्दा र विरोध नगरी कसैलाई निद्रा नलाग्ने र खान अरूची हुने जस्तो । अरूले आफू चर्चामा आउन पनि ओलीकै विरोध र निन्दा गर्नु पर्दछ । आफू राजनीतिमा किन भन्ने प्रश्नको उत्तर जस्तै छ ओलीको निन्दा र विरोध ।
२. मिडिया, राजनीतिक क्षेत्र र सामाजिक सञ्जालले ओलीविरूद्ध जे जस्ता आरोप लगाउने गरेको छ त्यसमा सत्यता छ भने ओली सरकारलाई विस्थापित गरेर आएको स्वयम् पूर्वप्रधानन्यायाधीशको नेतृत्वको सरकार छ, कानुन जानेका गृह मन्त्री छन्, सर्वोच्चका पूर्व न्यायाधीश कानुनमन्त्री छन्, ओलीलाई कानुनी दायरामा ल्याउन उनीहरूलाई के ले छेकेको छ ? तीन महिना हुन लाग्यो त उनीहरू सरकारमा आएको । एकोहोरो ओलीको विरोध, ओलीविरुद्ध जे जति आरोप सुनिन्छ त्यो सवै मानसिक तुष्टिका लागि ओली निन्दाक र घृणकहरूको कार्य त होइन ।
३. हो, परराष्ट्र नीतिमा, राष्ट्रको रणनीतिक हित र सरोकारका सवालमा ओली नेतृत्वको एमाले–काङ्ग्रेस सरकार गम्भीर रुपमा चुकेको थियो । परराष्ट्र नीतिमा वृहत्तर राष्ट्रिय हित हेरियो कि वामपन्थी आग्रह, शव्दाडम्बर र नाराबाजी त्यो पनि अर्को विचारणीय सवाल हो । राष्ट्रका भूराजनीतिक चुनौतीहरू राजनीतिक नारा र पार्टीको भोट आर्जनको माध्यम होइन भन्नेमा पनि केपी ओलीको ध्यान नपुगेको हो कि ? त्यसबारे वौद्धिक बहश र छलफल मुलुकमा किन भएन ? त्यो ओलीको मात्रै चूक थियो त ?
नेपालमा अयथार्थवादी र भूराजनीतिक सीमा र बन्धनबात निर्मित राष्ट्रिय हित र सरोकार विपरित रणनीतिक दुस्साहसले राजनीतिक बजारमा भाऊ त पाउने गरेको छ तर त्यसको मूल्य राष्ट्रले चुक्ता गर्नु पर्दछ भन्ने वारे ओलीजी जिम्मेवार नहुनुभएकै हो । काङ्ग्रेस पार्टीको तर्फबाट परराष्ट्रमन्त्री भएकी आरजु राणा देउवाको कूटनीतिक अकुशलता, अनुभवहीनताले पनि त्यहाँ काम गरेको हो कि ? सामाजिक सञ्जालमाथिको निषेध सरकारको गलत र अदूरदर्शी निर्णय थियो । ओली सरकार विरूद्ध संसदमै उठ्ने गरेका अराजक र उतेजक नारा र विरोधको अन्तर्य र २३ गतेको जेनजी आन्दोलनलाई हलुकारुपमा लिनु पनि ओली सरकारको गम्भीर राजनीतिक त्रुटी थियो र सुरक्षा प्रवन्धनको अभाव थियो ।
४. तर माथिका सवालमा भन्दा अन्य सवालमा हुने एकोहोरो निन्दा, विरोध र घृणाले ओली कमजोर नबनेर झनै शक्तिशाली पो बनेका छन् कि ? पूर्वराष्ट्रपति र उहाँका पक्षधरहरूको ओलीविरुद्धको एकोहोरो विरोधमा एमाले कमजोर हुँदा त्यसको लाभ आफूलाई प्राप्त हुने आशा र तिर्सनामा रहेका अन्य कम्युनिस्ट र वामपन्थी दलहरूको बोली र शक्ति समेत मिसिदा पो ओली विरूद्धको यो माहौल पो बनेको पो हो कि ? यो नै हो ओलीको शक्ति र सामथ्र्य ! यही हो ओलीको शक्ति !
५. आफ्नो पार्टी भित्र ओली लोकप्रिय/अलोकप्रिय के छन् त्यो एमालेले जानोस् । तर अर्को निर्वाचनले अन्यथा सावित गरेमा बाहेक आजको मितिसम्ममा लोकप्रिय मतको आधारमा एमाले मुलुकको सबैभन्दा ठूलो दल हो, संसद्को दोस्रो ठूलो दल र यो हैसियत (अपवादको रुपमा एक दुइ निर्वाचन क्षेत्रमा भएका तालमेल बाहेक) अन्य सारा दलहरू आफ्नो विपक्षमा हुँदा पनि प्राप्त गरेको हो नै ।

प्रतिक्रिया