युद्ध अन्त्यको वार्तामा सार्वभौमिकता जोगाउने र विश्वसनीय सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्ने कुरा प्रमुख प्राथमिकताः जेलेन्स्की


बीबीसी । यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्तामा यूक्रेनको भूभाग सम्बन्धी प्रश्न सबैभन्दा कठिन विषय रहेको बताएका छन् ।

पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटपछि उनले युद्ध अन्त्यका वार्तामा सार्वभौमिकता जोगाउने र विश्वसनीय सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्ने कुरा प्रमुख प्राथमिकता भएको बताए ।

रुसले डोनबासका यूक्रेनले नियन्त्रणमा राखेका क्षेत्र त्याग्न माग गरिरहेको छ, तर कीभले यस्तो मागलाई अस्वीकार गर्दै आएको छ । फ्लोरिडामा दुई दिन चलेका अमेरिका–यूक्रेन वार्तामा रुसपक्षीय मानिएको प्रारम्भिक शान्ति योजनामा फेरबदल गर्ने विषयमा छलफल भएको छ ।

सेन्ट हाउसले वार्ताबाट ‘अति आशावादी’ भएको बतायो, तर जेलेन्स्कीले त्यसमा केही चुनौतीपूर्ण मुद्दाहरू अझै बाँकी रहेको उल्लेख गरे । वार्तामा सहभागी अमेरिकी विशेष दूत स्टिभ विटकफ आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न रुस जाँदैछन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि भेटमा सहभागी हुनेछन् । विटकफले जेलेन्स्की, म्याक्रोन, यूक्रेनी मुख्य वार्ताकार रुस्तेम उमेरोभ तथा बेलायती प्रधानमन्त्री कीअर स्टार्मरसँग परामर्श गरिसकेका छन् र वार्ताको सन्देश पुटिनलाई बुझाउने अपेक्षा गरिएको छ ।

म्याक्रोनले हालसम्म कुनै औपचारिक शान्ति योजना तयार नभएको स्पष्ट पार्दै यस्तो प्रस्ताव युक्रेन तथा युरोपेली देशहरूको सहभागितामा मात्र सम्भव हुने बताए । उनका अनुसार, भूभाग, सुरक्षा ग्यारेन्टी, रोक्का रुसी सम्पत्तिको व्यवस्थापन र यूक्रेनको ईयू सदस्यता जस्ता विषयमा युरोपको भूमिका अनिवार्य छ।