– जीवा लामिछाने
म यस्तो ठाउँको चर्चा गर्न गइरहेको छु, जुन ठाउँमा मेरा बाले आफ्नो तन्नेरी वयका २०–२२ वर्ष बडो दुःख र मिहिनेत गरेर बिताउनुभएको थियो । बाले संघर्षमय जीवन बिताएको ठाउँ हो, कास्की जिल्लाको साविक अर्मला गाउँ विकास समितिमा पर्ने पार्किङ मुलकोट अर्थात् झुप्राङकोट ।
कालान्तरमा चितवनमा बसोबास गर्न थाले पनि बालाई आफ्नो थातथलोको माया लागिरहन्थ्यो । रोपाईँ सुरु नहुँदै वर्षको एकपटक वैशाख, जेठतिरको फुर्सदमा इष्ट–मित्र भेट्न बा आफ्नो पुख्र्यौली थलो गइरहनुहुन्थ्यो । बयालीस वर्षअघि बासँगै झुप्राङकोट पुगेको मलाई झलझली सम्झना छ। त्यतिबेला म भर्खर एसएलसी परीक्षा दिएर परिणामको प्रतीक्षामा थिएँ। एक दिन बाले भन्नुभयो, ‘अहिले स्कूल नभएको बेला फुर्सद छ, पहाडतिर सँगै जाउँ।’
यसरी २०३९ सालको वैशाखमा बासँगै म पहाड गएको थिएँ। केही दिन पोखरामै बसियो। अहिले त बाटो बनिसकेको छ, उतिबेला बाको पुख्र्यौली घर अर्मला गाविसको हर्पाकसम्म हिँडेरै जानुपथ्र्यो। बाटुले चौर, ठुलीबेसी हुँदै हिँडेरै हर्पाक पुगेका थियौँ। ठुलीबेसी फाँटबाट झन्डै डेढ घन्टाको ठाडै उकालो चढेको म सम्झन्छु। अहिले त्यत्तिको उकालो चढ्न म कति साहस गर्ला, तर त्यतिबेला भर्खर १७–१८ वर्षको उमेरमा कुनै कठिनाई भएन ।
हर्पाक पुगियो, केही दिन आफन्तकहाँ बास बसियो । यस्तैमा बाले ‘तँ हिँड्न अप्ठेरो मान्दैनस् भने अझ अगाडि घुमाउन लैजान्छु’ भन्नुभयो। फुर्सदिलो भएकाले म घुम्न लालायित थिएँ, रुचि पनि देखाएँ। बाले मलाई अझ माथि लेकसम्म लैजानुभयो।
पहिला–पहिला गाउँबाट केही पर लेकको जंगली क्षेत्रमा गोठ राख्ने चलन थियो। हर्पाकबाट झण्डै डेढ घन्टाको ठाडो उकालो चढेपछि अन्नपूर्ण हिमालको फेदमै रहेको ठाउँ झुप्राङकोट पुगियो । बा, म र बास्तोला कान्छा बा सहित हामी त्योबेला चार जना थियौँ, त्यहाँ पुग्ने ।
बडा रमाइलो ठाउँ। प्राकृतिक सम्पदाको भण्डार। हिमालको काख। उक्त ठाउँमा पुगेपछि बाले ‘उ त्यही हो’ भन्दै हातले इशारा गर्दै गोठ भएको ठाउँ देखाउनुभयो। बाले गोठ जाँदा र भैंसी पाल्दाका अनुभव बडो रोचक पाराले सुनाउनुभएको थियो, जसको स्मृति मेरो मस्तिष्कको न्यूरोन्समा अझै ‘सुरक्षित’ छ।
बाले सुनाएको एउटा प्रसंग मलाई अझै सम्झना छ। यो २००६ साल फागुनको कुरा हो, बाको विवाहको प्रसंग चलेको रहेछ । बा त्योबेला माथि लेकमै बस्नुभएको रहेछ। गोठमा उतिबेला चार–पाँच वटा दुहुना भैंसी थिए रे। एक रात एकजना कुनै आफन्त राँको बालेर बालाई भेट्न गएछन् र सन्देश सुनाएछन्, ‘मावली बाले तिम्रो विवाह छिनिसक्नुभयो, गोठ रुंघेर म बसुँला, तिमी अहिले तुरुन्तै घर जानुपर्यो ।’
बा सोही रात सन्देशवाहककै राँको बोकेर हर्पाक झर्नुभएछ। मावली बाले विवाहकै लागि पण्डित लिन पठाउनुभएको थियो। बा त्यही राँको बोकेर अली टाढै बस्ने सेतु पण्डितकहाँ पुग्दा रातिको दुई बजिसकेको थियो। पण्डितलाई घर ल्याएर भोलिपल्टै आमासँग बाको विवाह भएको थियो । विवाह कति फटाफट भएको थियो भने जग्गियामा बस्दा लगाउने कपडासमेत पोखराबाट अरू कसैले ल्याइदिएका रहेछन् ।
सानो फाँटभन्दा केहि तल खोरिया फाँडेर बाले खेतीपाती गर्दाका जमीनका टुक्राहरू पनि थिए । गोठ बनाउँदा ढुंगाको पर्खाल खडा गरिएको थियो, ढुंगे पर्खालका केही अवशेष पनि देखिन्थे। अरू गाउँलेका गोठहरू पनि त्यहाँ रहेछन् ।
उत्तरपट्टि अलिक पर बाले ‘मह भीर’का नामले चिनिने भीर पनि देखाउनुभयो। ‘ऊ त्यो भीरसम्म पनि हामी पुग्थ्यौँ बाबु’ बाले भन्नुभएको थियो । त्यहाँबाट माछापुच्छ्रे हिमाललगायत अन्नपूर्ण हिमश्रृंखलाका अनेक चुचुरा देखिन्थे । पश्चिमपट्टिका घाचोक, लाहाचोक र अस्ताम आदि गाउँका बारेमा पनि बाले धेरै कुरा भन्नुभएको थियो । ‘ती गाउँहरूमा हाम्रा नजिक र टाढाका नातेदार छन्’ भनेर बा भन्नुहुन्थ्यो । वरपरका ढिकुरपोखरी र लुम्ले आदि गाउँका बारेमा घरदेखि गोठसम्म चर्चा हुन्थ्यो । बाले औँलाले संकेत गर्दै ती एक–एक गाउँ देखाउनुभएको म सम्झन्छु ।
बाले सुनाउनु भए अनुसार लेकमा भैंसी पालेर बस्दाका अनेक कष्ट थिए । वर्षायाममा राति ब्वाँसोको हुलै गोठमा आउँथ्यो । ब्वाँसाहरूले भैंसी र पाडापाडी खाइदिन्थे । ब्वाँसाबाट चौपाया बचाउन हम्मेहम्मे पथ्र्यो । चितुवासँग पनि बेलाबेलामा जम्काभेट हुन्थ्यो । मृग र झारललगायतका वन्यजन्तु पनि देखिन्थे ।
लेकको सौन्दर्यको बयान पनि बाका मुखबाटै सुनें । म वैशाखमा पुगेको हुँदा आफैले देख्न त पाइन । बाले भने अनुसार फागुन–चैत लागेपछि त्यो क्षेत्रमा पहाडैभरी लालीगुराँस र अन्य फूलहरू ढकमक्क हुन्छन् । राता, पहेंला आदि अनेक रङ्गका फूलैफूलले पहाड सिंगारिएको त्यो दृश्य औधि मनोहर हुन्छ भनेर उहाँले भन्नुभएको म सम्झन्छु ।निगालोलाई ‘टुसा’ भन्ने त्यहाँको चलन । तामाजस्तै निगालोका मुन्टा, निगुरो प्रशस्त पाइने । बा भन्नुहुन्थ्यो, ‘टुसा र निगुरो खुबै खाइन्थ्यो बाबु।’
एसएलसीको रिजल्ट आयो, पास पनि भइयो । केही वर्षपछि म सोभियत संघ पढ्न गएँ । बिदामा घर आएको बेला एक दिन बाले झुप्राङकोटमा त्योबेला खोरिया फाँडेर खेतीपाती गर्दाका जग्गाबारे नयाँ कुरा सुनाउनुभयो । उतिबेला ऐलानी जग्गा भए पनि अब ज–जसले पहिले भोगचलन गरेका थिए, उसैको नाममा पास गर्ने प्रक्रिया सुरु भएको रहेछ । उतै रहेका बाका आफन्त र खासगरी मीत बाले यो खबर चितवन पठाउनुभएको रहेछ ।
बाले मसँग सोध्नुभयो, तिमीले त त्यो ठाउँ हेरेर पनि आएका छौ, अब त्यो जग्गा कसको नाममा पास गरौँ ? मैले त्योबेला भनेको थिएँ, ‘तपाईंले पसिना बगाएको र आफ्ना संघर्षपूर्ण दिनहरू बिताएको ठाउँ हो । त्यसैले तपाईंको पहिलो नातिको नाममा पास गरिदिनुस् । भतिजा (माइला दाईका छोरा) राम लामिछानेको नाममा पास गर्दा उचित होला ।’मेरो सल्लाह सुनेपछि बा खुसी हुनुभयो । ‘मैले दुःख गरेर आर्जेको जग्गा नाती पुस्तालाई हस्तान्तरण गर्न पाउँदा खुसी लाग्यो’, बाले भन्नुभएको थियो ।
अहिले आएर त्यो ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पहल सुरु भएको रहेछ । यो सुखद खबर मेरा हितैषी मित्र, पोखरा निवासी टंक सुवेदीले सुनाउनुभयो । उहाँले समेत दीर्घकालीन पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले काम गर्ने सोचका साथ अघि बढ्नुभएको रहेछ । झुप्राङकोटलाई पदयात्रा गन्तव्यका रुपमा विकास गर्नुपर्ने टंकजीको सोच र उत्कट अभिलाषा छ ।
छ सय वर्षदेखिको इतिहास, सांस्कृतिक धरोहर र अनुपम प्राकृतिक वैभव एकै चौतारीमा संग्रहीत झुप्राङकोट क्षेत्रको पर्यटकीय मूल्य दिनानुदिन उच्च हुँदै गएको छ । माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमशृङ्खला र पोखरा उपत्यकालाई एकै कोणबाट नियाल्न सकिने झुप्राङकोट वाइसे–चौबीसे राज्यकै समयदेखि नै कास्की राज्यको रणनीतिक सुरक्षा केन्द्रका रूपमा चिनिँदै आएको इतिहासकारहरू बताउँछन् ।
नागीडाँडा–सिक्लेस–ताङतिङ जोड्ने पदयात्रा सम्भावना, जडीबुटीको प्राकृतिक खानी, हिउँदमा ढकमक्क फुल्ने लालीगुराँस, दुर्लभ चराचुरुंगी र वन्यजन्तुको उपस्थितिले झुप्राङकोटलाई बहुआयामिक आकर्षणको केन्द्र बनाएको छ। नेपाल सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको अवस्थामा झुप्राङकोटलाई योजनाबद्ध पूर्वाधार, प्रचार–प्रसार र समुदायको समेत सहभागितामा अघि बढाउन सके यो क्षेत्र अन्तर्राष्ट्रिय स्तरको पदयात्रा तथा सुन्दर दृश्यावलोकनको गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया