काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबक सिकाउनुपर्ने बताएका छन् ।
शुक्रबार कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले हिजो संसद विघटन गर्ने र आज पुनस्र्थापनाको माग गर्नेलाई सबक सिकाउनुपर्ने बताएका हुन् ।
उनले एमालेले पनि दल दर्ता गरिसकेकले अब धाकधम्की दिनुको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘हिजो संसद विघटन गर्ने आज पुनस्र्थापना भन्ने अहंकारी दम्भीलाई सबक सिकाउने बेला यही हो । अहिले निर्वाचनको विकल्प छैन । नेपाली कांग्रेसले चुनावमा जाने बताइसकेको छ । एमालेले पनि दल दर्ता गरिसकेको छ । अब धाकधम्की दिए पनि कुनै अर्थ छैन ।’
प्रचण्डले जेनजी आन्दोलनपछि आफूलाई देश डुबेको जस्तो लागेको बताए । उनले भने, ‘संविधान र गणतन्त्र खारेज हुने हल्लाको बीचमा सन्त्रासमै शीतलनिवास पुगेका थियौँ । हामीलाई गर्व छ, राष्ट्रपतिलाई सहजीकरण गर्ने काम गर्यौँ । संविधान बचाउने भूमिका खेल्यौँ ।’
राष्ट्रका अगाडि आएको संकटको सामना गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै उनले चुनाव जित्नका लागि नभएको बताए ।
१५ वटा कम्युनिस्ट घटक मिलेर नयाँ रेकर्ड कायम गरिएको भन्दै प्रचण्डले अब एमालेतिर ध्यान गएको बताए ।
उनले भने, ‘बृहत् वामपन्थी एकता हुनुपर्छ भन्ने हो । हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका देशभक्त वामपन्थी नेताहरू यही पार्टीमा आउनुहुन्छ । कम्युनिस्ट मात्रै मिलेर हुँदैन । नेपाली कांग्रेसलाई पनि मोर्चामा ल्याउनुपर्छ ।’
नेपाली कम्युनिस्ट पार्टीलाई सबै अट्नसक्ने, सबैको अधिकार र क्षमता प्रयोग हुनसक्ने पार्टी बनाउने प्रचण्डको दाबी थियो ।

प्रतिक्रिया