काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।
शुक्रबार जंगी अड्डा पुगेर प्रधानमन्त्रीले निर्वाचनको सुरक्षा तयारीबारे जानकारी लिएकी हुन् । त्यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
उनले सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण बनाउन सेनालाई निर्देशन दिइन् । उनले भनिन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु ।’
त्यस्तै प्रधानमन्त्रीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा तयारी गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

प्रतिक्रिया