पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री


काठमाडौं ।  पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ ।

साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको हो । दुई हारपछि पहिलो जीत दर्ता गराएको पोखराले पहिलो दुई अङ्कसमेत जोडेको छ ।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका खेलाडी विपिन खत्रीले आजको खेलले टिमको मनोबल बढेको बताए । उनले भने, “सुरूआती दुई खेल हार्दा डर लागेको थियो । आज पहिलो जीत निकाल्दा टिमको मनोबल बढेको छ ।”

टिमलाई जिताउन व्यक्तिगत रूपमा ४ विकेट हात पारेका विपिनले आगामी खेलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

तेस्रो खेलमा पनि पराजित भए पनि जनकपुरका कप्तान अनिल शाह भने अझै प्लेअफमा पुग्नेमा आशावादी छन् । उनले भने, “अझै चार खेल बाँकी छन्, सबै खेल जितेर प्लेअफ पुग्ने लक्ष्य छ ।”