सुनसरीको इनरुवाबाट १ सय ५३ किलो गाँजासहित एकजना पक्राउ


काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट बिहीबार बिहान सशस्त्र प्रहरीले १ सय ५३ किलो गाँजासहित सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको हो ।

गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

उक्त गाडी र मोटरसाईकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कटिङ्ग गरी ल्याउँदै गरेको अवस्थामा गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले १ राउण्ड हवाइफायर समेत गरेको थियो ।

नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाईकल चालक फरार भएका थिए ।

नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकल चालकसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकरी दिए ।