पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले पोखिन् आक्रोश


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आशन्न ११औँ महाधिवेशनका लागि शुभकामना दिएकी छन् । बिहीबार सामाजिक संजालमार्फत भण्डारीले महाधिवेशनका लागि शुभकामना दिएकी हुन् ।

उनले महाधिवेशनमा आफ्नो भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले सँगै रहने बताएकी छन् ।

उनले भनेकी छन्, ‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।’

उनले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेकी छन् । नेकपा एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

यस्तो छ भण्डारीको भनाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।
महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।

विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ ।

मैले दुईवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु । सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।