काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सुशासनको प्रत्याभूति दिलाउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्।
राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८२’ को उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री घिसिङले लामो समयदेखि संचित आक्रोश र असन्तुष्टि जेन—जेड आन्दोलनका रूपमा प्रकट भएको बताएका हुन्।
‘सेवा प्रवाह, सुशासन र विकासका क्षेत्रमा परिणाम दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो,’ मन्त्री घिसिङले भने, ‘राजनीतिक नेतृत्व सही नहुँदा तल्लो तहसम्म असर गर्दै देशभर समस्या देखिएको छ।’
उनले राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तनमा पुराना राजनीतिक दल र नेताहरू सफल भए पनि परिवर्तनपछि समृद्धिको नेतृत्व गर्न भने चुकेको टिप्पणी गरे।
पुराना ऐन—कानुनले विकास र समृद्धिको जनचाहना पूरा गर्न अवरोध पुर्याइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले आगामी सरकारले ती बाधक कानून तथा नीतिमा आवश्यक संशोधन गर्ने अपेक्षा व्यक्त गरे।
मुलुक निर्वाचनमय भइसकेकाले समयमै निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्दै उनले भने, ‘सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्, तोकिएको समयमै निर्वाचन हुन्छ। अहिले बुद्धिविवेक प्रयोग गर्ने समय हो—देशलाई सही दिशा दिन सक्षम नेतृत्व छान्नुहोस्।’
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आर्थिक समृद्धिको आकांक्षा पूरा नहुँदा मुलुकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन आर्थिक उन्नतिको अनिवार्य पूर्वशर्त भएको बताए।उनका अनुसार स्वदेशी तथा विदेशी लगानी सुरक्षित गर्न नसक्दा लगानी आकर्षित नभएपनि जेन—जेड आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्तालाई थप हिचकिचाहट भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवाले रोजगारी खोज्ने होइन, नयाँ–नयाँ इनोभेशनमार्फत रोजगारी सिर्जना गर्ने सोच बनाउनु पर्नेमा जोड दिइन्। “प्रतिभा पलायन रोक्न आवश्यक छ। सरकार र शैक्षिक संस्थासँग सहकार्य गर्दै स्टार्टअप प्रवर्द्धनमा महासङ्घ सक्रिय छ,” उनले भनिन्।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र पौडेलले वैदेशिक रोजगारबाट सीप र पुँजी लिएर फर्केका युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न सक्नुपर्ने बताए। सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन, चुनौती, सम्भावना, नीति निर्माणलगायत विषयमा सामूहिक छलफल हुनेछ ।

प्रतिक्रिया