सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश इञ्चार्जहरुलाई जिम्मेवारीबाट हटाएको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुलाई जिम्मेवारीबाट हटाउँदै उनीहरुलाई निर्वाचन केन्द्रित बनाउने र उक्त पदमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने र त्यसका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा– ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको महामन्त्री कबीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको बुर्लाकोटीले जानकारी दिएका छन् ।