काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको सङ्गीन विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार सामाजिक संजालमार्फत ज्ञवालीले भण्डारीले केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
ज्ञवालीले भनेका छन्, ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो÷देखियो । एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबीसहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए ।संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

प्रतिक्रिया