बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङलेर टोंगाका राजा टुपु छैटौसँग बेइजिङमा भेटवार्ता गर्दै दुई देशबीच विकास रणनीतिहरूको समायोजनलाई नयाँ स्तरमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति सीले चीन र टोंगा कठिन परिस्थितिमा पनि एकअर्काका विश्वसनीय साथी बनेर उभिएको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापनापछि दुवै देशले मूल हित र प्रमुख चासोमा निरन्तर समर्थन गर्दै आएको बताए। उनका अनुसार व्यवहारिक सहयोगका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ र चीन–टोंगा व्यापक रणनीतिक साझेदारी निरन्तर सुदृढ बन्दै गएको छ।
‘अन्तर्राष्ट्रिय परिवेश जे भए पनि चीन टोंगाको विश्वसनीय साझेदार हो। हामी सधैं टोंगाको स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा उभिएका छौं,’ सीले स्पष्ट पारे।
सीका अनुसार चीनले व्यापार–पुँजी लगानी, कृषि तथा मत्स्य, पूर्वाधार, स्वच्छ ऊर्जा, स्वास्थ्य सेवा, पर्यटन र जलवायु परिवर्तनजस्ता क्षेत्रमा टोंगासँग सहयोग विस्तार गर्नेछ।
राष्ट्रपति सीले हालै सम्पन्न चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण अधिवेशनले आगामी पाँच वर्षका लागि चीनको विकासको उच्चस्तरीय खाका तय गरेको उल्लेख गर्दै, चीन उच्च गुणस्तरको विकास, गहिरो सुधार र उच्चस्तरीय खुलापनमा केन्द्रित हुने बताए।
टोंगाका राजा टुपुले चीनको दीर्घकालीन र निःस्वार्थ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै टोंगाले एक–चीन नीति दृढतापूर्वक पालन गर्ने तथा “ताइवान स्वतन्त्रता“ को कुनै पनि रूपको स्पष्ट विरोध गर्ने बताए।

प्रतिक्रिया