काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमा नेपालले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् २००६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत्ति हाबी हुनेछ । ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ ।’
उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘नयाँ पार्टी बनेको छ । हामी पूरानो पार्टीबाट मुक्त हुनुपर्छ । यसमा प्रशिक्षणको पनि आवश्यकता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । संगठन मेरो वा अर्को संगठन अरुको भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ ।’

प्रतिक्रिया