वीरगञ्ज नाकाबाट चार महिनामा भित्रिए दुई खर्ब ८४ अर्बका सामान


वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ ।

गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए । ‘गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ,’ उनले भने ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको चार महिनामा कार्यालयले ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो ।

तर, चालु आथिृक वष्को चार महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज नाका हुँदै चार महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

त्यस्तै सोही अवधिमा २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् ।

वीरगञ्ज नाका हुँदै चार महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएको छ ।