बुटवल । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्नेहरुलाई कामले जवाफ दिने बताएका छन् ।
मंगलबार लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुनाव हुँदैन भनेर सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिने बताएक हुन् ।
उनले भने, ‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन्, सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।’
राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याउनु भएको भन्दै गृहमन्त्री अर्यालले धेरै परिमाण्ढामा विशेष अपरेसनमार्फत् यी हतियार फिर्ता ल्याइसकेको बताए ।
उनले आफूहरु कसैको निगाहबाट आएको नभई सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भाद्र २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा सरकार गठन भएको बताए ।
उनले भने, ‘वर्तमान सरकार कसैको निगाहामा बनेको होइन । हामी कुनै अपेक्षाले आएका होइनौं र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौं । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पुरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं ।’
उनले सरकार त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएको बताए ।
गृहमन्त्री अर्यालले चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । उनले भने, ‘हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन । प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं ।’
सुरक्षा गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरू सहभागी छन् । गोष्ठीले लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसकालागि आवश्यक रणनीति तय गर्ने निर्वाचनका लागि आवश्यक पार्ने गरी सुरक्षा तयारी गर्नेछ ।

प्रतिक्रिया