काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्य कल्याण गुरूङले पार्टीको विशेष महाधिवेशन नहुने बताएका छन् । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताएको भोलिपल्ट गुरूङले विशेष महाधिवेशन नहुने बताएका हुन् ।
यस्तो छ कल्याण गुरुङको भनाई
साथीहरुले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ? मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन । एक, केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन । दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन । तीन, हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन । चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन । पाँच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्विकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ । विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
उहाँहरुले फेरि सोध्नु भयो – अब के हुन्छ ? मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भइसकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ । यसर्थ, ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । कुरो सुस्पष्ट छ । आफैं विचार गर्नुहोला । भ्रममा नपर्नु होला । किमधिकम् । जय नेपाल !
महामन्त्री गगन थापाले सोमबार सामाजिक संजालमा यस्तो लेखेका थिए
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने; होइन । साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनें, प्रष्ट छ –अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं।

प्रतिक्रिया