जेरुसेलम । इजरायलले आइतबार बेरुतमा हिजबुल्लाहका सैन्य प्रमुखलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र २१ जना घाइते भएको पुष्टि गरिएको छ।
लेबनानको सरकारी समाचार संस्था (एनएएनए) का अनुसार हेजबुल्लाहको प्रभाव रहेको घना बस्ती बेरुतको दक्षिणी उपनगरमा आक्रमण भएको थियो र यसबाट केही व्यक्तिको हताहत भएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायल र इरान समर्थित हेजबुल्लाहबीच एक वर्ष लामो युद्धविरामको बाबजुद लेबनानमा हेजबुल्लाहको निशानाबिरूद्ध आक्रमणको आदेश दिएको बताएको छ।
“केही समयअघि बेरुतको मध्य क्षेत्रमा इजरायली सेनाले हेजबुल्लाहका सेना प्रमुखलाई लक्षित गरी आक्रमण गरेको थियो,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “इजरायल सबै ठाउँमा र जहिले पनि आफ्नो उद्देश्य प्राप्त गर्न कार्य गर्न प्रतिबद्ध छ।”
घटनास्थलमा रहेका एएफपी संवाददाताले नौ तले भवनको तेस्रो र चौथो तलामा आक्रमण भएको, एम्बुलेन्स वरिपरि भेला भएका र उद्धारकर्ताहरूले आवासीय भवनको निरीक्षण गरिरहेका बताए ।
एनएएनएले हरेत ह्रिक क्षेत्रमा रहेको भवनमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको र सवारी साधन र नजिकैका अन्य संरचनाहरूमा इजरायली सेनाले क्षति पुर्याएको जनाएको छ।
सन् २०२४ नोभेम्बरको युद्धविरामपछि हिजबुल्लाहसँग एक वर्षभन्दा बढी समयदेखि शत्रुता अन्त्य गर्न खोजेको इजरायलले लेबनानमा पछिल्ला केही दिन यता लगभग दैनिक आक्रमणहरू गरेको छ। सामान्यतया लेबनानको दक्षिण र पूर्वमा विद्रोही समूहका सदस्यहरूलाई आक्रमण गरिरहेको छ।
यद्यपि आइतबारको आक्रमण जुन ५मा हेजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।
लेबनानको दक्षिणी शहर आइता अल–शाबमा यसअघि भएको आक्रमणमा एक जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेतान्याहूले आइतबार नै हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्नका लागि इजरायलले आवश्यक सबै कदम चाल्ने बताएका थिए ।

प्रतिक्रिया