काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ ।
राजदूत फिर्ता प्रकरणमा सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेर प्रधानमन्त्री कार्कीले अदालतको आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलना मुद्दा दायर गरेका थिए ।
आइतबार न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले अवहेलना मुद्दामा कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।
सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो । तर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई उक्त निर्णय कार्यन्वयन नगर्न आदेश जारी गरेको थियो ।
तर सर्वोच्चले आदेश दिएको भोलिपल्टै सरकारले कात्तिक १७ गते राजदूतहरूलाई पहिलेकै निर्णय अनुसार तत्काल फिर्ता हुन पत्र पठाएको थियो ।
सरकारको पत्रपछि राजदूतहरु स्वदेश फर्केका छन् । फर्केका मध्ये केहीले राजीनामा दिएका छन् भने केही परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।

प्रतिक्रिया