अहिलेसम्म शासनसत्तामा बस्नेहरुको इतिहास लेखियो, अब जनताको इतिहास लेखिनेछः सन्तोष परियार


काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा परियारले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।

उनले भने,‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

उनले कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक, प्रगतिशीलहरु र राष्ट्रको चिन्ता गर्नेहरु एकठाउँमा आउने दिन भएको बताए ।

उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन । यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशीलहरु र यो राष्ट्रको चिन्ता गर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एक ठाउँमा आउने दिन हो ।’

त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको भन्दै संविधानमाथि पनि धेरै संकट मुर्झाएको बताए ।

आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई थियो ।
उनले सबै वामपन्थी लोकतान्त्रिक प्रगतिशील पार्टीहरुलाई संकिर्णता छोडेर आफूहरुको अभियानमा जोडिन आह्वान गरे ।

उनले भने, ‘जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरु हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, शिकारीको इतिहास लेखिने छ । आजसम्म नेपालको इतिहासमा शिकारीको इतिहास लेखियो, शासनसत्तामा बस्नेहरुको लेखियो अब जनताको इतिहास लेखिने छ ।’