महाधिवेशनबारे किन गरेन कांग्रेसले निर्णय ?


काठमाडौं । गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १६ निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले महाधिवेशनकाबारेमा भने कुनै निर्णय गरेन ।

बैठकले फागुन २१ का लागि घोषित निर्वाचनमा भने माग लिने निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो । यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ । साथै, निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि सर्वोच्च अदालतको व्याख्यालाई मान्ने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ, ‘संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्याविपरीत छ । संसद विघटन असंवैधानिक छ । यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा परेको छ । संविधान भित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ । त्यस पछाडि, अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकोले सर्वोच्च अदालतबाटै अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।’