विश्व दर्शनशास्त्र दिवसमा ‘दर्शनशास्त्र र विज्ञान’ विषयक संवाद आयोजना


काठमाडौँ । विश्व दर्शनशास्त्र दिवसका अवसरमा त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्र विभागले आयोजना गरेको विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ‘Dialogue Between Philosophy and Science’ शीर्षकमा केन्द्रित कार्यक्रममा दर्शन र विज्ञानबीचको सम्बन्ध, समकालीन बौद्धिक विमर्श, तथा विश्वविद्यालयस्तरमा दार्शनिक अध्ययनको आवश्यकता लगायत विषयमा विस्तृत छलफल भएको थियो।

प्रमुख वक्ताका रूपमा भौतिकशास्त्री प्रा. डा. वसन्तकुमार गौतमकासाथै उप–प्राध्यापक मनोजकुमार ठाकुर र उप–प्राध्यापक प्रकाशचन्द्र गजुरेलले आ–आफ्ना विषय प्रस्तुत गर्दै दर्शनले विज्ञानलाई कसरी दिशानिर्देश दिन्छ र विज्ञानले दर्शनलाई कसरी प्रामाणिकता प्रदान गर्छ भन्ने पाटोमा प्रकाश पारे । कार्यक्रममा इतिहासकार डा. गोविन्द टण्डन र वरिष्ठ पत्रकार रवीन्द्र मिश्रले पनि दर्शन र समाजबीचको सम्बन्धबारे महत्वपूर्ण विचार राखेका थिए।

कार्यक्रमका अवसरमा नारायणप्रसाद शर्माद्वारा लिखित ‘अहिंसा दर्शन’ नामक ग्रन्थको संयुक्त रूपमा लोकार्पण गरिएको थियो । पुस्तकको परिचय स्वयं लेखकले प्रस्तुत गरेका थिए भने पुस्तकको समालोचनात्मक समीक्षा प्रा. डा. प्रदीप गिरीले गरेका थिए।
कार्यक्रमको सभापतित्व प्रह्लाद अधिकारीले गरेका थिए। क्याम्पस प्रमुख प्रा. डा. नीलम श्रेष्ठ, सहायक क्याम्पस प्रमुख अजन्ता आचार्य, सरिता मानन्धर, नारायणप्रसाद शर्माको महत्त्वपूर्ण उपस्थिति रहेको थियो ।

त्रिवि सिनेटर प्रा. डा. अंगदमणि गौतम, इतिहास विभागका प्रमुख प्रा. डा. गोविन्दमान सिंह, स्ववियु सभापति गोविन्द कोइरालालगायत अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन डा. गोविन्दशरण उपाध्यायले गरेका थिए ।