प्रधानमन्त्रीलाई ओलीको सुझावः विध्वंशकारी सपना देख्न छोड्नुस्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले दलका नेताहरूलाई कार्यक्रममा जान अवरोध गर्ने क्रियाकलाप रोक्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई युवा भेलामा जान नदिएर आतङ्क मच्चाइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने,‘अस्ति एमालेमाथि ढुङ्गा हान्न आए, विमानस्थल र प्रहरीमाथि ढुङ्गामुढा गरे, त्यस्ता क्रियाकलाप सरकारले अविलम्ब छिटो रोक्नुपर्छ ।’

उनले यस्ता गतिविधि नरोके चुनाव हुन नसक्ने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्रीले १२५ दलसँग वार्ता राखेर कांग्रेस एमालेको अपमान गरेको आरोप लगाए । उनले राजनीतिक दलका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने चेतावनी दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘देशमा थप विध्वंश मच्चाउने तपाईंको योजना हो कि सपना हो ? तपाईंको योजना हो भने त्यो पूरा हुन दिइँदैन । यदि सपना देखेको भए यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस् । कसले विद्रोह गर्छ ? जनतालाई धम्काएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेको, त्यो के ? फेरि आगो लगाउने, तोडफोड गर्ने, लुटपाट गर्ने हो ?’

उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनले बताए ।