सेन्ट्रल कलेजद्वारा ‘सेन्ट्रल फेस्ट’ आयोजना


काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले ‘सेन्ट्रल फेस्ट–२०८२’ सम्पन्न गरेको छ। पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीको प्रमुख आतिथ्यतामा सेन्ट्रल फेस्ट सम्पन्न भएको हो।

शनिबार सम्पन्न फेस्टमा सेन्ट्रल फेस्टलाई कलेज सञ्चालक समितिका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक कृष्णबहादुर धिताल तथा विद्यार्थी, प्राध्यापक, अभिभावक र स्थानीयहरूले अवलोकन गरेका थिए।

सो अवसरमा विद्यार्थीहरूले गीत, संगीत, नृत्य, सायित्यसहित फेसन, डिजाइन, संस्कृति, हस्पिटालिटी, व्यवस्थापकीय कौसल र पाककलाको समेत प्रदर्शन गरेका थिए। फेस्टमा विद्यार्थीहरूले दुई दर्जनभन्दा बढी स्टल राखेका थिए।

सो अवसरमा मण्डला निर्माणलगायतका प्रतिस्पर्धासमेत सञ्चालन गरिएको थियो। विद्यार्थीको प्रतिभा, ज्ञान र सिपलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहप्राचार्य गणेश बुढाथोकीले बताए। प्राचार्य पारस श्रेष्ठले किताबी ज्ञानलाई व्यवहारमा उतार्न कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको प्रस्ट पार्दै अतिरिक्त क्रियाकलापले शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले विद्यार्थीलाई रोजगार र स्वरोजगार बन्न सेन्ट्रल फेस्टले प्रेरित गर्ने बताउँदै विद्यार्थी बिदेसिने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षाको महत्त्व रहेको उल्लेख गरे।

फेस्ट अवलोकनपछि प्रतिक्रिया दिँदै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसीले ज्ञानलाई सिपमा बदल्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा मनोबल बढ्ने र उद्यमशीलताको विकास हुने उनले विश्वास व्यक्त गरे। पोखरा विश्वविद्यालयले विद्यार्थीलाई श्रम र उत्पादनमा जोड्ने नीति लिएको उनको जिकिर छ।