-नारायण गाउँले ।
एउटा कार्यकर्ताले पार्टी छोड्दा त त्यसको असर हुन्छ भने, सन्तोषजीजस्ता शिक्षित, अनुभवी र युवा नेताले कुनै दल छोड्दै गर्दा पक्कै त्यसको ठूलो असर होला । हुनु पनि पर्ने हो । सन्तोषजी जस्ता एकदम शोषित वर्गबाट माथि उठेको कुशल नेतृत्व अन्य पार्टीमा पनि धेरै छैन । तर जमिनको यथार्थ भने अलि फरक छ । पहाडदेखि तराई र शहरदेखि गाउँसम्म छिर्दा मैले भोगेको सत्य के हो भने यो नयाँ दलप्रति झुकाव राख्ने ग्रासरूटका भोटरले रास्वपा पनि चिन्दैनन्, स्वर्णिम वाग्ले या सोविता गौतम पनि चिन्दैनन् । तिनले रवि लामिछानेमात्रै चिन्छन् । घण्टी र रवि यत्ति दुई कुरा तिनको मस्तिष्कमा बसेको छ । तिनले उम्मेदवारको नाम र अनुहारभन्दा पनि रवि लामिछानेलाई सम्झेर भोट हाल्छन् । माने पनि नमाने पनि ‘रवि’ एउटा ब्राण्डजस्तै छ र रास्वपा एउटा क्लबजस्तै छ । क्लबमा को आउँछ या जान्छ भन्नेले यसका कोर शुभेच्छुकलाई केही फरक पर्दैन । बार्सिलोना मन पराउनेले मेसी पक्कै मन पराउँछ तर मेसी अन्तै गए पनि बार्सिलोना नै मन पराउँछन् ।
हो, जेनजी आन्दोलनपछि सबैको धरातल र स्वीकृति उस्तै छैन । खासगरी जेनजी आन्दोलन नेतृत्वविहीन देखेपछि त्यसको फाइदा लिने र सोझै प्रधानमन्त्री बन्ने सपनामा रवि लामिछाने जेलबाहिर निस्किएको धेरैलाई लागेको छ । विधिको शासनमा कर्मचारीले चिठी लेखेर कैदी छुट्ने कानुन हुँदैन भन्ने त पूर्वगृहमन्त्रीलाई थाहा नहुने कुरो भएन । सुरक्षा चिन्ता भएको व्यक्ति हुड खुल्ने कार पर्खेर हात हल्लाउँदै पक्कै निस्किँदैन । त्यो चिठीको भाषा पनि पार्टीकै लाइनको पूर्ण राजनीतिक भएको पनि सत्य हो । नेताका वैयक्तिक सम्पत्तिदेखि अदालतसम्म लागेको आगोमा रास्वपा कार्यकर्ताको उपस्थिति पनि धेरैले नोट गरेका छन् । यसको असर रविको समग्र लोकप्रियतामा त परेकै छ, पार्टी नै पनि सङ्कटमा देखिन्छ ।
यही सङ्कटका कारण रास्वपा सकिएको भन्ने धेरैलाई लागेको छ । यसैका केही नेतालाई पनि लागेको छ । केही छोड्ने दाउ हेर्दै छन्, केहीले छोडिसके । तर एकछिन चियापसलदेखि मेलापातसम्म पुग्नुभयो र कुरा गर्नुभयो भने रवि लामिछानेलाई ब्लाइन्ड सपोर्ट गर्ने आमजनताको सङ्ख्या आज पनि ठूलो छ । तिनले न तीन तहकै अदालतले गिनाएका सहकारी ठगीका प्रमाणलाई वास्ता गरेका छन्, न जेलबाहिर आउँदाको अस्वाभाविक गतिविधिलाई अवैध ठानेका छन् । सबै दल रवि विरुद्ध छन् र रविलाई फसाइएको हो भन्ने भाष्य आज पनि आमजनताको मस्तिष्कमा गडेर बसेको छ ।
काठमाडौंमा बसेर रास्वपा एकदम कमजोर भएको या सकिएको जस्तो लाग्न सक्छ । रास्वपाकै केन्द्रीय कार्यालयमा त्यस्तो लाग्न सक्छ । तर फिल्डमा रविको क्रेज बढ्दो नहोला, धेरै घटेको पनि छैन । म देशभरि त पुग्न पाएको छैन तर जहाँ पुगेको छु र मान्छेसँग कुरा गरेको छु, ती सबै ठाउँमा रवि आफै उठ्ने हो भने अरू सबै मिलेर पनि जित्न सक्दैनन् । यद्यपि यो मेरो वैयक्तिक सर्वेक्षण हो र सही गलत दुबै हुन सक्छ ।
सुमना श्रेष्ठ नहुँदा रास्वपालाई संसदमा घाटा होला, तर चुनावमा उनको ठाउँमा कामना श्रेष्ठ राखे पनि ठूलो घाटा हुँदैन । समानुपातिक लिस्टमा को छन्, मतदाताले हेर्दैनन् । आज वैचारिक मतभेद होला, अर्को प्लेटफर्मबाट आफूले गर्न खोजेको देशसेवा या राजनीति सजिलो होला तर रास्वपा छोडेर जानेले रवि लामिछानेलाई धन्यवाद दिनै पर्छ । आज छोड्दै गर्दा जुन स्तरको राष्ट्रिय समाचार बनेको छ, त्यसमा रविको ठूलो योगदान छ ।
दुःखका साथ भन्नुपर्छ, हाम्रो कानुनी प्रक्रिया र व्यवस्थाले गर्दा रविको मुद्दा तत्काल फछ्र्योट हुने देखिन्न । धेरैलाई लागेको होला, सरकारले चाह्यो भने, सुशीला कार्कीले चाहिन् भने तत्काल हुन्छ, तर अदालत सरकारले चलाउने निकाय होइन, सरकारभन्दा माथिको संवैधानिक अङ्ग हो । सरकारले नियन्त्रण गर्ने न्यायपालिका हामीले खोजेको पनि होइन । पुर्पक्षमा पुगेको मुद्दा सरकारले चाह्यो भने अलिकति छिटो होला, अदालतले मागेको जवाफ र बहस छिटो होला, तर प्रक्रिया त उही झन्झटिलो र लामो छ । हजारौँ नागरिकले यो पीडा भोग्दै आएका छन् । अदालतले नै सक्रियता देखायो भने केही छिटो होला । अनि धेरै कार्यकर्ताले ध्यान नदिएको पक्ष के पनि छ भने जेजति प्रमाणलाई अदालतले नोट र इन्डोर्स गरेको छ त्यसको आधारमा अन्तिम फैसलामा रवि निर्दोष नै साबित हुन्छन् भन्ने पनि छैन ।
रवि चुनावी मैदानमा नहुने हो भने रास्वपाको समानुपातिक त राम्रै मत आउला, प्रत्यक्षतर्फ धेरै सीट आउनेचाहिँ देखिन्न । त्यसमाथि यति धेरै नयाँ दल जन्मिएका छन् । सिङ्गो रास्वपा उनको एकल क्लबजस्तो बन्नु यहाँनिर घाटाको विषयजस्तो चाहिँ देखिन्छ । योग्य भएर पनि आफ्नै नाममा अरूले चुनाव जित्न मुश्किल पर्ने अवस्था एउटा दलका लागि पक्कै राम्रो होइन । फेरि कार्यकर्ता आफैंले ‘रविकै नामले जितेको त होस्’ भनेर सोझै भन्ने गरेको सुनिन्छ । त्यसैले पनि सन्तोषजस्ता केही नेतालाई फ्रस्ट्रेट बनाएको हुन सक्छ । रास्वपाले यसको निकास कसरी खोज्छ, हेर्न बाँकी छ ।
यहाँनिर के महत्त्वपूर्ण प्रश्न छ भने, यत्रो विवाद र मुद्दाका बाबजूद पनि किन यति धेरै मान्छे रवि लामिछानेको पक्षमा छन् त ? रवि त पाखा लागे रे एकछिनलाई, तर के त्यो जनमत दलतिरै फिर्ता आउँछ त ? के दलहरूको आजसम्मको मनपरी, कमीशनखोरी, अक्षमता र निरङ्कुशताले गर्दा नै मान्छे वाक्कदिक्क भएका होइनन् र ? उनी जे होलान् तर देशभर सुशासनका पक्षमा, परिवर्तनको पक्षमा देखिएको अपार जनलहरमा उनको भूमिका छैन र ? के रविभन्दा स्वच्छ मान्छेको हातमा राजनीति भएको भए मान्छे रविको पछाडि लाग्दा हुन् र ? त्यसको औषधि नगर्ने, रियलाइजेशन पनि नगर्ने र रविलाई मात्रै टार्गेट बनाएर दलको विश्वास र शाख फर्केला र ? के भोलि रविको ठाउँमा अर्को नयाँ कवि नउदाउला र ? अहिलेका लागि, सन्तोषजीलाई नयाँ यात्राको निम्ति शुभकामना !

प्रतिक्रिया