काठमाडौं । ग्लोबल पिस फाउन्डेसन, त्रिभुवन विश्वविद्यालयको हिन्दी विभाग, नेपाल पर्यटन बोर्ड र हिन्दी साहित्य भारती (अन्तर्राष्ट्रिय)को संयुक्त आयोजनामा ‘नेपाल–भारत सांस्कृतिक संवाद’ आयोजना गरिएको छ ।
भारतका पूर्वशिक्षामन्त्री डा. रविन्द्र शुक्लाको नेतृत्वमा आएका विश्वविद्यालयका प्राध्यापकहरूको टोली हाल नेपालका धार्मिक स्थलहरूको भ्रमणमा रहेको छ । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपाल र भारतबीचको सम्बन्धलाई अझ गहिरो बनाउन यस्ता संवादहरू अत्यन्त महत्त्वपूर्ण हुने बताए ।
त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी डा. स्वेता दीप्तीले स्वागत मन्तव्य दिँदै नेपाल र भारतबीचको सम्बन्ध माइतीघर र ससुरालीबीचको सेतु जस्तै रहेको बताइन् ।
हिन्दी साहित्य भारती (अन्तर्राष्ट्रिय)का संस्थापक डा. रवीन्द्र शुक्लाले हिन्दी भाषाको विश्वव्यापी महत्त्वबारे चर्चा गर्दै हाल ३७ देशमा उक्त संस्थाले क्रियाशील रूपमा कार्य गरिरहेको जानकारी दिए । उनले हिन्दी भाषाले भारतमा बोलिने विभिन्न भाषाहरूलाई जोड्ने माध्यमका रूपमा काम गरिरहेको उल्लेख गरे । सनातन संस्कृतिको मूल मन्त्र “कृण्वन्तो विश्वमार्यन्” ले विश्व एकताको भावना जगाउन सहयोग पुर्याउने बताए ।
कार्यक्रममा भारतका डा. जयलक्ष्मी, डा. दयानन्द तिवारी, डा. कैलाशलगायतका विद्वानहरूसँगै नेपालका डा. चिन्तामणि योगी, सूर्य भुषाल, पार्वती भुषाल, विनोद विश्वकर्मा, दामोदर गौतम, डा. रामदयाल राकेश, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. धनेश्वर नेपाल र डा. माधव पाण्डेसहितका वक्ताहरूले विचार राखेका थिए।
वक्ताहरूले नेपाल–भारत सांस्कृतिक संवाद निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याउँदै विगतमा सम्पन्न मुक्तिनाथ–कन्याकुमारी–द्वारका–बद्रीनाथ पदयात्राका स्मृतिहरू आदानप्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा एमिटी विश्वविद्यालयका निर्देशक डा. सञ्जय कुमार झाले नेपाल र भारत मानव संस्कृतिका संवाहक राष्ट्रहरू भएको बताउँदै दुवै देशले सांस्कृतिक सम्पर्क र सहकार्यलाई विश्वसामु उदाहरणका रूपमा प्रस्तुत गरिरहेको धारणा राखे ।



प्रतिक्रिया