काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पूरा गर्नुपर्ने बताएका छन् । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताए ।
‘नेपालमा अपार सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार स्थापित गर्दै समृद्धिको रेखा कोर्नुपर्छ’ रावलले भने, ‘देशको रक्षा, जनताको सुरक्षा पहिलो कर्तव्य हुनुपर्छ, यस पार्टीले राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ, यसबाट हाम्रो सीमानाको रक्षा गर्नुपर्छ । सरकारी र निजी सम्पत्ति अब जल्ने छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।’
उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने,‘एक जनाको सत्ता स्वार्थ, अहंकार विरोधी राजनीतिक दलसँग मिलेर भएपनि सत्ता लिप्सामा पुगेर ढलेको त्यो नेकपाको इतिहासलाई म स्मरण गरिरहेको छु । आज फेरि नेपाली कम्युनिष्ट पार्टीलाई अगाडि बढाएर चाहे जनयुद्धको मोर्चामा होस्, चाहे जनआन्दोलनको मोर्चामा होस्, कोअर्डिनेसन केन्द्रदेखि नयाँ सङ्कल्पसहित यहाँ उभिँदा विगतलाई बिर्सिएको छु ।’
नयाँ संकल्पकासाथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उभिँदा त्यो बेलाको विशाल दुःख र भारी मनलाई बिर्सेको उनले सुनाए । उनले विगतका कमीकमजोरीबारे नेतृत्व पंक्तिलाई सोच्न पनि आग्रह गरे । देशको स्वाधीनतालाई बलियो बनाउन पार्टी लाग्नुपर्ने बताए । घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया