मतदातालाई प्रचण्डको अपीलः तोकिएको मितिभित्र मतदाता नामावलीमा नाम दर्ता गर्नुस्


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सबै नागरिकलाई अपील गरेका छन् । बुधबार बिहान भिडिओ सन्देश जारी गर्दै प्रचण्डले नाम दर्ताका लागि अपील गरेका छन् ।
उनले नाम दर्ताका लागि पाँच तरिकासमेत सिकाएका छन् ।

यस्ता छन् प्रचण्डले सुझाएका नामदर्ता गर्ने प्रक्रिया

१. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ। नागरिकताको प्रमाणपत्रमा रहेको भन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त देहायका प्रमाणहरूसमेत पेस गर्नुपर्दछ।

(क) बसाई सरी आएको प्रमाणपत्र, वा

(ख) विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र ।

कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्र बाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गा धनि प्रमाण पुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ । उक्त प्रमाणहरु पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्तो व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ ।

२. आयोगले तोकेको मतदाता नामावली सङ्कलन फाराम भर्नुपर्दछ ।

३. तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ । फोटोको लागि कुनै शुल्क तिर्नुपर्दैन ।

४. औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ । यस्तो औँला छाप विद्युतीय माध्यमबाट सङ्कलन गरिन्छ ।

५. दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाणस्वरूप सुरक्षित राख्नुपर्दछ । मतदाता नामावली मतदाताको स्थायी बसोबासको ठेगानामा दर्ता गरिनु पर्दछ ।