विप्लवले छाडे समाजवादी मोर्चा


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले विज्ञप्ति जारी गरी आफ्नो पार्टी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।

नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रलगायतका १० दलबीच एकता पछि विप्लवले मोर्चा छाडेका हुन् । भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले आफ्नो रफ्तारमा काम अघि बढाउन नसकेको उनले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ ।’