जेनजी आन्दोलनको क्षतिपछि तीन अर्ब ६८ करोड बढी बीमा भुक्तानी


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीले करिब  तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार आन्दोलनका क्रममा परेका बिमा दाबी कूल  २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए ।

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बीमातर्फ दुई हजार २९० वटा दाबीको करिब  तीन अर्ब ४७ करोड सात लाखमध्ये रु ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए ।

त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु ५४ करोड ७५ लाखमध्ये रु ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु एक करोड ६८ लाखमध्ये रु ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिब रु ३९ करोड ३० लाखमध्ये रु २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनःबीमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबीमा दाबी दर्ता भई सोको कूल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ । बीमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बीमा कम्पनी र पुनःबीमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए ।